काठमाडौँ, असार २२ गते । आइतबार चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै शुक्रबार चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।
सङ्घले आइतबार आफ्नो–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो । सोही अनुरूप आज(आइतबार) चिकित्सकले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका हुन् ।
यसैगरी, सम्पूर्ण शाखा कार्यालयलाई चिकित्सकको हस्ताक्षर र नेपाली मेडिकल काउन्सिलको प्रमाणपत्र सङ्कलन गरी सोमबारभित्र केन्द्रीय कार्यक्रमा बुझाउन सङ्घले आग्रह गरेको छ । सङ्घले मङ्गलबार सम्पूर्ण चिकित्सकको प्रमाणपत्र काउन्सिलमा बुझाउने कार्यक्रम तय गरेको छ ।
केही दिन अगाडी उपभोक्ता अदालतले उपचार लापरबाहीका कारणले बिरामीलाई क्षती पुगेको भन्दै बिरामी र बिरामीका आफन्तको उजुरीमा ओम अस्पताल, हिमाल अस्पताल, ग्रान्डी सिटी अस्पताल गरी तीन वटा अस्पताल र उपचारमा सङ्लन चिकित्सकलाई उपचारमा लापरबाही भएको ठहर गर्दै क्षतिपूर्तिको फैसला सुनाएको थियो।
यो फैसाला लगतै सङ्घका महासचिव डा.सञ्जीव तिवारीले विज्ञप्ति निकाल्दै उपभोक्ता अदालतको यो निर्णयले अस्पताल र चिकित्सकलाई हतोत्साहित बनाएको बताउँदै आपत्ति जनाउनु भएको थियो । संघले उपभोक्ता अदालतको उक्त निर्णयको विरोध जनाउँदै आन्दोलनका कार्यक्रम घोषण गरेको हो ।
सङ्घले घोषण गरेको आन्दोलनको एसाेसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसाेसिएसन, नेपाल फिजियोथेरापी एसाेसिएसन, नेपाल भेटेरिनरी एसाेसिएसन, एनाभिएमआइए, एनपिएचओले ऐक्यबद्धता जनाएका छन् ।