• १२ असोज २०८१, शनिबार

समानुपातिकतर्फ पाँचथरमा एमालेलाई सबैभन्दा धेरै मत

blog

समानुपातिक तर्फको मत गणना सम्पन्न गरेर मतपत्र सिलबन्दी गर्दै कर्मचारी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, मङ्सिर १४ गते। प्रत्यक्षतर्फबाट प्रतिनिधि सभामा ४६ मत अन्तरले कांग्रेसलाई पछाडि पारेको नेकपा (एमाले)लाई समानुपातिक तर्फ पाँचथर जिल्लाबाट सात हजार भन्दा धेरै मत प्राप्त भएको छ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एमालेलाई जिल्लाबाट २६ हजार ५ सय ९२ मत प्राप्त हुँदा नेपाली कांग्रेसले १९ हजार ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो।

जिल्लामा नेकपा (माओवादी केन्द्र)ले १२ हजार १ सय ६९ मत प्राप्त गर्दै तेस्रो र नेकपा (एकीकृत  समाजवादी) तीन हजार ३ सय ८७ मतसहित चौंथो स्थानमा सीमित भएको छ। 

यस्तै प्रदेश सभाको समानुपातिकतर्फ पाँचथरमा नेकपा (एमाले)लाई नै धेरै मत दिएका छन्। प्रदेश सभातर्फको समानुपातिकमा एमालेले पाँचथरबाट २८ हजार २६ मत प्राप्त भएको छ। यस्तै नेपाली कांग्रेसलाई १९ हजार ८ सय ४७ र नेकपा (माओवादी केन्द्र)लाई १० हजार ६ सय ८२ मत प्राप्त भएको छ। 

यसैगरी प्रदेश समानुपातिकतर्फ ३ हजार ३ सय ७० मत पाएको राप्रपा चौंथो स्थान बनाउन सफल भएको छ। पाँचथरमा प्रतिनिधि सभाको समानुपातिकमा ७५ हजार २ सय ३४ र प्रदेश सभातर्फको समानुपातिकमा ७४ हजार ४ सय ६६ जनाले मतदान गरेका थिए। जिल्लामा समानुपातिक तर्फको गणना मंगलबार राति सकिएको छ।