• १२ चैत २०८२, बिहिबार

कांग्रेसको १५ औँ महाधिवेशन असोजमा

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, चैत १२ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोजमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रवक्ता देवराज चालिसेका अनुसार प्रदेश अधिवेशन २०८३ असोज ७ र ८ गते, जिल्ला अधिवेशन २०८३ असोज २ र ३ गते गर्ने निर्णय भएको छ । 

कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय सुझाव दिनका लागि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय भएको छ ।”

बैठकले प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारी बनाउन आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले २०८२ पुस २७ देखि ३० गते भएको कांग्रेस विशेष केन्द्रीय महाधिवेशनले १४ औँ 

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटनको निर्णय गर्दै १५ औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहने निर्णय गरेको छ । कांग्रेस बैठकले नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।  

कांग्रेस लिडरसिप एकेडेमीको स्थापना 

कांग्रेसले पार्टीले आन्तरिक र सार्वजनिक नेतृत्व विकासका लागि निश्चित पाठ्यक्रम तयार गरी कक्षा सञ्चालनलगायत देहायका काम गर्न पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत ‘कांग्रेस लिडरसिप एकेडेमी’ गठनको निर्णय गरेको छ । 

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ सङ्घको अवस्था र गतिविधिको अध्ययन गरी निर्णयको प्रस्तावसहित प्रतिवेदन १० दिनभित्र पेस गर्न महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ । साथै केन्द्रीय लेखा समतिको संयोजकमा केन्द्रीय सदस्य भरतकुमार शाह चयन हुनुभएको छ । 

मध्यपूर्व सङ्कटबारे साझा पहल

कांग्रेसले मध्यपूर्वमा बढ्दो सङ्कट र त्यसबाट उत्पन्न गम्भीर अवस्था ठुलो चुनौती बन्दै गएको र नेपालको आन्तरिक एवं बाह्य क्षेत्रमा बहुआयामिक सङ्कट आउनेतर्फ समयमै सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । बैठकले लाखौँ नेपाली श्रमिकको सुरक्षा, व्यवस्थापन, रेमिट्यान्स र रोजगारीमा आउने समस्यामा समेत नेपालले ध्यान पु¥याउनुपर्ने बताएको छ । 

कांग्रेसले सम्पत्ति छानबिन उच्चस्तरीय आयोग गठन, भ्रष्टाचारसँग जोडिएका सबै काण्ड र अवैध सम्पत्तिको अनुसन्धानबारे माग गरेको छ । साथै कांग्रेसले सुर्खेत गुर्भाकोट नगरपालिका–६ की १६ वर्षीय बालिका इनिशा विकको बलात्कार र जघन्य हत्याबारे अनुसन्धान र कानुनी कारबाहीको माग गरेको छ ।