सञ्जीतकुमार मण्डलजलेश्वर (महोत्तरी), असोज ८ गते । महोत्तरी जिल्लाको औरही नगरपालिका–७, भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यस मन्दिर मिथिला क्षेत्रकै भगवती मन्दिर तथा शक्तिपीठहरूमध्ये महत्त्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रूपमा रहेको छ ।मन्दिरमा विशेषगरी भूत, प्रेत, पिसाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीहरूद्वारा सताइएका व्यक्तिहरूलाई झारफुक एवं तान्त्रिक विधिद्वारा निको हुने विश्वास गरिन्छ । सन्तान नभएकाहरूलाई सन्तान प्राप्त हुने, भाकल पूरा हुने विश्वास रहेको पुजारी कामेश्वर झाले बताउनुभयो । यहाँ दैनिकजसो पूजापाठ, आराधना, दर्शन तथा बलि प्रदान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।करिब पाँच सय वर्षअघि यस मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो । जङ्गलमा गाई, भैँसीलगायतका बस्तुभाउ चराउन जिल्लाको पश्चिमी तथा दक्षिणी भेगबाट मान्छेहरू आउने गर्दथे र रातिको बास जङ्गलमै बस्नुपर्दथ्यो । एक दिन बस्तुभाउ चरिरहेकै अवस्थामा पाँच वटा भैँसी एकैसाथ हराएपछि चरवाहाहरूले भैँसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा सोनासति महारानी मानवको रूपमा प्रकट भई ‘भैसी आफूसँग रहेको जानकारी गराउनुभयो । उहाँले ‘मलाई दैनिक पूजापाठ, साँझ बत्ती, आरती गरे मात्र भैँसी दिने नत्र नदिने’ भनेपछि चरवाहाहरूले सोही दिनदेखि त्यहाँ सोनासतिमाईको पूजापाठ आरती हुँदै आएको माताको तत्कालीन पुजारी माझी झाको भनाइ किम्वदन्तीको रूपमा रहेको पुजारी झगरु झा बताउनुहुन्छ । अर्को प्रसङ्गमा पुजारी माझी झाको मित्र माझी चौधरीका व्यक्ति बिनाकसुर वीरगन्ज जेलमा परेपछि उनले जेलबाटै सोनासति महारानीको मन्दिर बनाइदिन्छु भनी भाकल गर्दा जेलबाट निस्केको कहानी समेत स्थानीयहरूको जनजिब्रोमा रहेको कुरा अर्का पुजारी घनश्याम झाको कथन छ । मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौको रुखको टोड्कामा सोनासति महरानीको बास रहने गरेको स्व. पुजारी राजेन्द्र झा (बन्ठु) को भनाइ थियो । केही वर्षपछि पुजारीले कहचरीया स्थानबाट मूर्ति ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर बनाई दैनिक पूजापाठ गर्न थाल्नुभयो । यसैबीच सोनामाईकै नाम स्मरण गर्दा जेलबाट मुक्त भएका माझी चौधरीले मातालाई गरेको पूर्ववाचाअनुसार मन्दिर बनाई दिएपछि त्यसमा माताको प्राणप्रतिष्ठा गराई पूजापाठ हुन थालेको स्थानीय राजनीतिकर्मी नरेन्द्र यादवले बताउनुभयो ।धेरै वर्ष सोही मन्दिरमा पूजाआजा भयो र पुनः सो मन्दिर पनि पुरानो र जीर्ण भएपछि त्यसलाई भत्काई अहिलेको नयाँ मन्दिर बनेको छ र यसै मन्दिरमा माताको पूजा, पाठ, आरती दैनिक रूपमा भइरहेको छ । यस शक्तिपीठलाई देशकै नमूना शक्तिपीठ तथा धार्मिक एवं पर्यटकीयस्थलको रूपमा समेत विकास गर्न सकिने स्थानीयहरूको भनाइ रहेको छ । नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरहरूमध्येको यो मन्दिर पनि एउटा शक्तिपीठ हो । यहाँ विशेषगरी दसैँमा छिमेकी मुलुक भारतबाट हजारौँ श्रद्धालु भक्तजनको पूजाआजा, दर्शन, भेटी र बलि चढाउनुका साथै भूत मेलामा सहभागी हुनका लागि घुइँचो लाग्ने गर्दछ । घटस्थापनादेखि विजयादशमीसम्म यस मन्दिरमा बडो हर्षोल्लास र धुमधामका साथ विशेष पूजा आराधना गर्नुको साथै यहाँ ठुलो भूत मेला लाग्ने गर्दछ । यस मन्दिरमा मनोकामना पूरा भएको भन्दै मानिसहरु पूर्व भाकलअनुसार लड्डु, मिठाई, बोका, परेवा, राँगालगायतका पञ्चबलि चढाउन आउने गर्छन् । कति ले त सुन चाँदीका गरगहना, लत्ताकपडा, मुकुट, गेरुवा, चनमा आदि पनि चढाउने गर्छन् भने कतिले विभिन्न आकारका घण्टीहरू समेत चढाउने गर्छन् ।पहिलापहिला प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म छिमेकी गाउँहरूबाट चामल, धुप, अगरवती, फूल, पैसा सङ्कलन गरी महिला र पुरुषको समूह बनाएर माताको पूजा गर्न आउने चलन समेत रहेको स्थानीय राजनीतिकर्मी रामबाबु चौधरी बताउनुहुन्छ । यस मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती आदि देवीदेवताको मूर्तिको अतिरिक्त तपसी बाबाको धुनी समेत रहेको छ । यहाँ वर्षको ३६५ औँ दिन चौबिसैँ घण्टा आगो (धुनी) बलिरहन्छ । यहाँ प्रत्येक वर्ष बडादसैँको अवसर पारेर ठुलो भूत मेला पनि लाग्ने गर्छ । दसैँको दस दिन यहाँ सोनासति महारानी साक्षात विराजमान रहने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झाले बताउनुभयो । असोज शुक्ल प्रतिपदादेखि विजया दशमीसम्म यहाँ ठुलो मेला लाग्ने गर्छ । दसैँको पहिलो दिनअर्थात् घटस्थापनाको दिन बिहान ३/४ बजे पुजारीको घरबाट परम्परागत बाजागाजाको साथ सबै पुजारी सामेल भई ‘डाला’ (धुप, दीप, अक्षता, कलश, नैवेध, रातो कपडा, खर्ग आदि) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । द्वितीयादेखि षष्ठीसम्म ठुलो सङ्ख्यामा भक्तजन आउने पूजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाई मातालाई चढाउने तथा बोका, परेवाको बलि दिने गरिन्छ । त्यसैगरी सप्तमीको दिन विभिन्न ठाउँबाट आएको फूलपाती मन्दिरमा भित्र्याउने चलन छ । त्यस्तै नशा पूजा अष्टमीको दिन हुन्छ र सो दिन रातिमा धुप–दीप, नैवेद्य, फलफूल, चुरा, सुन, चाँदी आदिले भव्य पूजा भई मन्दिरभित्रै बोका बलि दिइन्छ । त्यस्तै राजदेवीलाई कुभिन्डोको बलि दिने तथा माताको जीउभरि घ्यू र सिन्दूर लगाई नयाँ कपडा लगाउने चलन छ । यस मन्दिरमा महानवमीको दिन सयभन्दा बढीको सङ्ख्यामा राँगाको बलि प्रदान हुन्छ । विजयादशमीको दिन पुनः माता सोनासतिको डाला मन्दिरबाट परम्परागत बाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत् तरिकाले सोनामाई मेलाको सम्पन्न हुन्छ । यसै दिन भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना आदि गाउँका वासिन्दाहरु खुसीले लड्डु, मिठाई, पेडा, खोवा, जिलेवी आदि चढाएर आपसमा प्रसाद बाँड्ने गर्दछन् । यस सोनामाई मन्दिरको विशेष आकर्षणको रूपमा यहाँ चौथीदेखि अष्टमीको दिनसम्म भूत मेला लाग्ने गदर्छ । चौथीदेखि अष्टमीसम्मको पाँच दिनसम्म करिब पाँच सयको सङ्ख्यामा आफूलाई भूत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्साबोक्सीद्वारा सताएको ठानिएका व्यक्तिहरू यस गाउँको चारैतिरको सीमा क्षेत्रमा प्रवेश गर्दा रुँदै, कराउँदै, दौडदै राजदेवीमाईको खुट्टानिर लड्ने गर्दछन् । मन्दिरका पुजारीहरूले ती व्यक्तिहरूलाई तन्त्रमन्त्रद्वारा बाँध्ने तथा भूत, प्रेत, तथा बोक्साबोक्सीबाट मुक्ति दिलाउने गरिएको स्थानीय प्रेमबाबु यदुवंशीले बताउनुभयो । रासस
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो ।
बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले निःशुल्क रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
जेनजी समूहको आन्दोलनका क्रममा क्षति पुगेको हेटौँडा उपमहानगरपालिकासहित वडा कार्यालयहरू सेवा प्रवाहमा जुटेको छ । हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालय क्षतिग्रस्त भएपछि बुधबारबाट पुनः सञ्चालन गर्दै सेवामा जुटेको हो ।
जिल्लाको शिवराज नगरपालिका १ उमरिचोकमा पूर्व–पश्चिम राजमार्ग बस बुधबार बिहान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
जेनजी आन्दोलनको क्रममा काठमाडौँमा लुटिएको हतियारसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले दुईवटा पेस्तोल र त्यसको गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
हिन्दुहरुको महान् चाड दशैंका लागि हिमाली भेडा रोजाइमा पर्छन् । नागरिकस्तरबाट माग बढेपछि ब्यापारीहरुले हिमाली भेडा सुर्खेत लगायतको शहरमा पुगाएका छन् ।
यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र्रले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ ।
अर्थ मन्त्रालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ।
विजयादशमी मनाउन घर फर्किने क्रममा सिमानामा नेपालीहरुले भोग्नुपरेका समस्या न्यूनीकरणका लागि होटल व्यवसायी संघ बाँकेले पहलकदमी अघि बढाएको छ ।
जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा मात्रै करिब २८ करोडको क्षति भएको छ ।
मुलुकभरका उखु किसानले सरकारसँगको सम्झौताअनुसारको अनुदान रकम दसैँअघि नै पाउनुपर्ने माग गरेका छन् । सरकारले यसअघि नै रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले उक्त रकम नपाएपछि उनीहरू चिन्तित बनेका हुन् ।
चारवेद र अठार पुराणका रचनाकार वेदव्यासको जन्मभूमि दमौलीलाई हिन्दुधर्मालम्बीहरूको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित व्यासगुफा परिसरमा विश्व ॐकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ ।
राजविराज नगरपालिका ४ का मुस्लिम महिलाहरू टोलको सुरक्षाका लागि बिगत पाँच दिनदेखि रातभरि गस्ती गर्दै आएका छन् ।