• ८ असोज २०८२, बुधबार

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

blog

चितवन,  असोज ८ गते । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो ।

 डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ ।

 सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठुलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरू पूर्णरूपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताउनुभयो । 

सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मङ्गलबार साँझबाट ठप्प भएको छ । सडक रोकिएसँगै ठुलो सङ्ख्यामा सवारी साधन लाममा छन् । यात्रुवाहक सवारी साधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् । मालवाहक सवारी साधन लाममा छन् ।

 प्रयोग गर्न सकिने वैकल्पिक मार्ग

 डिभिजन सडक कार्यालय चितवनले  तुइन खोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्किन सकिने छ । त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्किन सकिने छ ।

हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारी साधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । काठमाडौँतर्फ जाने ठुला सवारी साधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिङ्गन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाइएको छ ।

 त्यसैगरी पोखरा जानका लागि ठुला साना दुवै सवारी साधनले बुटवल हुँदै पोखरा जान मिल्ने जनाएको छ । कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिने छ । गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिने कार्यालयले जनाएको छ । रासस