प्रनिश गिरी
कुश्मा (पर्वत), वैशाख २३ गते । पर्वतमा गत फागुन तेस्रो साता फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण व्यावसायिक रूपमा पालिएका बंगुरहरू मरेपछि करिब एक दर्जन कृषि फार्मका खोर रित्तिएका छन्। महामारीले ठुलो आर्थिक नोक्सानी व्यहोरेका कृषकहरूले अहिलेसम्म कतैबाट पनि राहत पाउन सकेका छैनन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, पर्वतका अनुसार अफ्रिकन स्वाइन फ्लुबाट जिल्लाभर करिब ३ सयको सङ्ख्यामा बंगुर मरेका छन्। कुश्मा नगरपालिका–८, ओडारेमा ‘ओडारे कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएका कृषक गौरव क्षेत्रीका ९ वटा माउ तथा पाठापाठी मरेका छन्। १२ वर्षदेखि यो व्यवसायमा संलग्न क्षेत्रीको फार्ममा कोभिड महामारीअघि १५० सम्म बंगुर हुने गरेकोमा अहिले घटेर ४० मा खुम्चिएको छ।
बंगुर पालक कृषक समूहका अध्यक्ष समेत रहनुभएका क्षेत्रीले भन्नुभयो, “स्वाइन फ्लुका कारण आर्थिक कठिनाइले कृषकहरू विस्थापित हुने अवस्था आएको छ। स्थानीय सरकार र भेटेरिनरी कार्यालय कतैबाट राहत पाइएको छैन। बिमाले समेत महामारीजन्य रोगको जोखिम नलिँदा थप मर्का परेको छ। कृषकलाई सस्तो ब्याजमा ऋणको व्यवस्था भए पनि राहत हुने थियो।”
यस्तै, कुश्मा–८, दोबिल्लास्थित ‘स्मृति कृषि फार्म’ का सञ्चालक प्रकाश गुरुङको खोर अहिले रित्तै छ। करिब ५० लाखको लगानीमा सञ्चालित फार्मका २२ वटा माउसहित ७६ वटा बंगुर मरेपछि उहाँले २३ लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको छ। “केही दिनमा बिक्री गर्ने तयारीमा रहेका बंगुर महामारीले सखाप पारिदियो,” रित्तो खोर देखाउँदै गुरुङले भन्नुभयो, “क्षतिपूर्तिका लागि वडा, पालिका र भेटेरिनरी कार्यालयमा निवेदन दिएको छु, तर सहयोग पाउने निश्चित छैन।”
कुश्मा–४, साउनेबगरस्थित ‘पुर्जा बंगुर फार्म’ का कृषक श्याम प्रसाद पुर्जा पुनले पनि ३० लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोर्नुभएको छ। उहाँका ७५ वटा बंगुर महामारीका कारण मरेका छन्। जिल्लामा आधा दर्जन फार्मका खोर रित्तिएका छन् भने दर्जनौँ कृषक प्रभावित भएका छन्।
भेटेरिनरी कार्यालय पर्वतका प्रमुख सुरेश कुमार श्रेष्ठले प्रभावित कृषकलाई राहत दिने खालका कुनै पनि आर्थिक कार्यक्रम कार्यालयसँग नरहेको बताउनुभयो। जिल्लामा वार्षिक ४० मेट्रिक टन बंगुरको मासु उत्पादन हुँदै आएको र पर्वत यसमा आत्मनिर्भर रहे पनि अबको अवस्था कठिन हुने उहाँको भनाइ छ। पर्वत जिल्लाभर हाल ८० वटा बंगुर फार्म दर्ता छन्।