गोविन्द शर्मा
बाँके, बैशाख २३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे छ ।
सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा १२ बेलासपुरमा खजुरा गाउँपालिका ६ का बिशालचन्द ठकुरीको हत्या गरिएको घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार कैलाली लम्कीचुहा नगरपालिका –१ का १९ बर्षिय दिपेन्द्रराज गिरी, २० बर्षिय बिबिएस कुँवर, १८ बर्षिय सुशील खत्री, २० बर्षिय खकेन्द्र देवकोटा, कालिकोट पचालझरना गाउँपालिका –६ का १८ बर्षिय सन्तोष सन्ज्याल र सुर्खेत विरेन्द्रनगर नगरपालिका –३ का २० बर्षिय रुपेश थापा रहेका छन् ।
घटनालगत्तै फरार उनीहरुमध्ये चार जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका –२ अम्रेनीनजिकबाट र २ जनालाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार वैशाख २१ गते साँझ बेलासपुरका २१ बर्षिय प्रितम अधिकारीको व्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका प्रितमका साथीहरु घरमा बस्ने ठाउँ नभएपछि आफन्त पर्ने दिपेन्द्र रोकायको घरमा एउटै कोठामा बसेर रमाइलो गरेका थिए ।
गम्भीर घाइते ठकुरीको उपचारका क्रममा सोही दिन बिहान करिब ६ बजेतिर सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका जुम्ला चन्दननाथ नगरपालिका –४ का २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग गरिएका हतियार लगायतका अन्य सामग्री बरामद गरेको जनाएको छ ।