• ८ असोज २०८२, बुधबार

कपिलवस्तुमा बस दुर्घटना : एकको अवस्था गम्भीर

blog

कपिलबस्तुको शिवराज नगरपालिकाको उपरिचोकमा भएको बस दुर्घटना । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), असोज ८ गते ।
जिल्लाको शिवराज नगरपालिका १ उमरिचोकमा पूर्व–पश्चिम राजमार्ग बस बुधबार बिहान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई बस दुर्घटना भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घाइतेमध्ये मुगुको खट्याङ गाउँपालिका–७ की ५० वर्षीया राधिका शर्मा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

दुर्घटनामा राधिकाको छोरा २१ वर्षीय विकास शर्मा, अछाम कमल बजार नगरपालिका–५ का २७ वर्षीय शिवराज अधिकारी, बाँके बैजनाथ गाउँपालिका–१ का २६ वर्षीय विवेक खत्री घाइते हुनुभएको छ ।

त्यस्तै, लमजुङ महेपालका ६४ वर्षीय पुण्यनिधि घिमिरे, दुर्गादेवी अधिकारी, दैलेख दुल्लु नगरपालिका–६ का तिलक खड्का, कालिकोट राजकोट नगरपालिकाकी सरिता आचार्य, कास्कीको लेखनाथ नगरपालिकाका विजय रानाभाट र जाजरकोट भेरी नगरपालिका–३ का मदन थापा हुनुहुन्छ ।   

सामान्य घाइते भएका नौ जनाको चन्द्रौटाको संजिवनी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएका छन् । बस र चालक प्रहरी नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताउनुभयो । बाटोमा एक्कासी ट्रक आउँदा ब्रेक लगाउने क्रममा बस पोलमा ठोक्किएर पल्टिएको उहाँको भनाइ छ ।