• ८ असोज २०८२, बुधबार

व्यासभूमि दमौलीलाई हिन्दू धार्मिक पर्यटनको केन्द्र बनाउन एक महिने महामिलन पर्व हुने

blog

व्यास गुफा परिसरमा राखिएको ऋषिहरुको मूर्ति । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज ८ गते ।
चार वेद र अठार पुराणका रचनाकार वेदव्यासको जन्मभूमि दमौलीलाई हिन्दु धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित व्यासगुफा परिसरमा विश्व ॐकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ ।

वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा कात्तिक १ देखि ३० गतेसम्म सञ्चालन हुने भएको हो । व्यासभूमिको प्रचार–प्रसार गर्दै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई विश्वस्तरमा चिनाउने तयारी गरिएको हो ।

शान्ति स्वरुपानन्द दामोदर बाबा र गोविन्द बाबाको संरक्षकत्वमा हुने यो पर्वअघि नै १८ महिनासम्म कथा वाचन, अखण्ड हरिनाम सङ्कीर्तन, १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको प्रतिष्ठानले जनाएको छ । व्यास ऋषिले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिएको व्यासगुफा, पराशर क्षेत्र, शिवपञ्चायन मन्दिर, मत्स्य कुण्डलगायत स्थललाई एकीकृत धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

पर्वपछि सङ्कलित रकम व्यासगंगामा नियमित आरती सञ्चालन गर्न अक्षयकोष स्थापना गर्न खर्च गरिने दामोदर बाबाले बताउनुभयो । बाबाका अनुसार कात्तिक ९ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुनेछ । महायज्ञमा पण्डित कृष्णकान्त काफ्लेले प्रवचन दिनुहुनेछ ।

व्यासका अध्येता काशीनाथ न्यौपानेका अनुसार व्यासभूमि करिब ५५ सय वर्षअघि वेदव्यासको अवतरण स्थलका रूपमा स्थापित छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोमसहित धर्मसभा आयोजना गरी यही भूमि व्यासको अवतरण स्थल भएको पुष्टि गरेका थिए । पौराणिक, धार्मिक, आध्यात्मिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको अवस्थाले यस पर्वमार्फत दमौलीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको नक्सामा स्थापित गर्ने अपेक्षा गरिएको छ ।