अनिल पराजुली
हेटौँडा, असोज ८ गते । जेनजी समूहको आन्दोलनका क्रममा क्षति पुगेको हेटौँडा उपमहानगरपालिकासहित वडा कार्यालयहरू सेवा प्रवाहमा जुटेको छ । हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालय क्षतिग्रस्त भएपछि बुधबारबाट पुनः सञ्चालन गर्दै सेवामा जुटेको हो । वडा कार्यालयले आन्दोलनको क्रममा भएको क्षतिको विवरण सार्वजनिक र चार्ड पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
आन्दोलनको क्रममा आगजनीबाट वडा कार्यालयको कम्प्युटर पाँच थान, स्क्यान र प्रिन्टर ७ थान, ल्याप्टप २ थान, मोटरसाइकल १ थान र दराज, टेबल, कुर्सी, फ्रिज, सोफा, बायोमेट्रिक्स मेसिन जलेर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । प्रशासन, लेखा, योजना लगायतका फाइलसहितको कागजात सबै जलेर पूर्ण रूपमा नष्ट भएको उहाँले बताउनुभयो ।
“देशैभरि भएको क्षति दुःखद हो, वडा कार्यालय, स्वास्थ्य कार्यालयमा क्षति पुग्दा सेवा प्रवाह प्रभावित भएको छ, शून्य अवस्थामा वडा कार्यालय छ, छोटो समयमा न्यूनतम आवश्यक स्रोत साधन जुटाएर वडाको सेवा वडावासीसम्म प्रवाह गर्दै छौँ,’’ वडाध्यक्ष सिग्देलले भन्नुभयो । जस्तो सुकै सङ्कटमा पनि एक ढिक्का भएर अगाडि बढ्न कार्यालयको व्यवस्थापन गरेर सेवा प्रवाह सुरु गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा वडाध्यक्षसहित स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतकाले सहभागिता रहेको थियो ।
प्रभावित वडा कार्यालयलाई कम्प्युटर
आन्दोलनका कारण सेवा प्रवाह प्रभावित बनेका हेटौँडा उपमहानगरपालिकाका चार वटा वडा कार्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाले कम्प्युटर हस्तान्तरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको वडा नं. ३, ४, ११ र १९ मा सेवा सहज र सुचारु पार्ने उद्देश्यले प्रत्येक वडा कार्यालयलाई कम्प्युटर प्रदान गरिएको हो । आन्दोलनबाट कार्यालयको सेवा सञ्चालनमा अवरोध सिर्जना भएको अवस्थामा गरिएको यो सहयोगलाई महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले वडाध्यक्षलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो ।
वडा नं. ३ का अध्यक्ष ढलक बहादुर थापा, वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नं. ११ वडाध्यक्ष जुना दाहाल र वडा नं. १९ का वडाध्यक्ष नरनाथ सुवेदीले आन्दोलनले दैनिक प्रशासनिक काममा अवरोध पुर्याएको अवस्थामा प्राप्त भएको सहयोगले आम नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । असहज परिस्थितिमा हातेमालो गर्दै अघि बढ्न प्राप्त भएको सहयोगको उहाँहरूले प्रशंसा गर्नुभयो ।