गोविन्द शर्मा
बाँके, असोज ८ गते । विजयादशमी मनाउन घर फर्किने क्रममा सिमानामा नेपालीहरुले भोग्नुपरेका समस्या न्यूनीकरणका लागि होटल व्यवसायी सङ्घ बाँकेले पहलकदमी अघि बढाएको छ । नेपाली र भारतीय सुरक्षाकर्मीसँग नेपालीहरुको सहजताका लागि छलफल गरेको सङ्घले होटल व्यवसायीहरुसँग अन्तरक्रिया गरिएको जनाएको छ ।
होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले दसैँ मनाउन स्वदेश फर्किरहेका नेपालीहरुमाथि सीमाक्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मी तथा नेपाली होटल व्यवसायीहरुले दुःख दिने गरेको जनगुनासो आएको बताउनुभयो ।
नेपालीहरुलाई सीमामा सहजताका लागि केही दिनअघि भारतीय सीमा सुरक्षा बल र प्रहरीसँग छलफल गरेको सङ्घले नेपाली सुरक्षाकर्मीसँग यसबारे छलफल गरेको जनाएको छ ।
होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष कँडेलले भन्नुभयो, “यसमा केही दर्ता नभएका होटल व्यवसायीहरुको पनि संलग्नता पाइएपछि सङ्घले गम्भीररुपमा सचेत बनाएको छ ।”
लुम्बिनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाबाट कामको खोजीमा भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेकाहरु हरेक वर्ष दसैँ मनाउन घर फिर्ता हुने गरेका छन् ।
स्वदेश फर्किने क्रममा सीमाक्षेत्रमा उनीहरु प्रहरी र व्यवसायीबाट पीडित भएपछि सहजताका लागि समन्वय गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ । होटल व्यवसायी र रिक्सा चालकलाई यात्रु तानातान नगर्न अनुरोध गरिएको सङ्घले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले भारतबाट स्वदेश फर्किने नेपालीहरुलाई सीमाक्षेत्रमा सहजताका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको र भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको बताउनुभयो ।