• ८ असोज २०८२, बुधबार

प्युठानमा रेबिजविरुद्धको खोप अभियान सञ्चालन

blog

सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर रेबिजविरुद्धको खोप लगाइँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, असोज ८ गते ।
बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले निःशुल्क रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । कार्यालयले विश्व रेबिज दिवसको अवसर पारेर साताव्यापी खोप अभियान सञ्चालन गरेको हो ।

कार्यालयले ४० वटा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको पशु प्राविधिक भरत गिरीले बताउनुभयो । “६ गतेदेखि खोप अभियान सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो, “यो अवधिमा कार्यालयले निःशुल्क खोप लगाउने कार्यक्रम छ ।” 

जिल्लामा रेबिज रोग नियन्त्रण गर्न स्थानीय तह र लुम्बिनी प्रदेश सरकारअन्तर्गतको एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालयले जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्दै आएको छ ।

सामुदायिक कुकुरका कारण समस्या बढेपछि सम्बन्धित सरोकारवाला निकायले कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप लगाउने योजना बनाएर कार्यान्वयन गर्दै आएका छन । सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि मुख्य मुख्य बजार क्षेत्रमा शिविर सञ्चालन गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्राविधिक भरत गिरीले बताउनुभयो ।

विश्व रेविज दिवस २०२५ को नारा ‘रेबिजविरुद्ध जुटौं : तपाईं, हामी, समुदाय’ भन्ने रहेको छ । अघिल्लो वर्ष १४० वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको कार्यालयको तथ्याङ्क छ ।