सिराज खान
नेपालगन्ज, असोज ८ गते । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा मात्रै करिब २८ करोडको क्षति भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले दिएको जानकारी अनुसार आन्दोलनको क्रममा भएको क्षतिको मूल्याङ्कन सकिँदा सो क्षतिको विवरण आएको हो ।
नेपालगन्ज उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीबाट कार्यालय परिसरमा रहेका सवारी साधन, कार्यालयमा रहेका फर्निचर र उपकरणका साथै विभिन्न भवन ध्वस्त हुँदा २७ करोड ८८ लाख रुपियाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको बताउनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको उपस्थितिमा जनप्रतिनिधि, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेतको रोहवरमा सो क्षतिको मुचुल्का तयार पारिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार आगजनीबाट नेपालगन्ज उपमहानगरको कार्यालयको २६ करोड ७६ लाख ८० हजार रुपियाँ र नेपालगन्ज उपमहानगपालिकाको सटरमा भएको पसलको सामान जल्दा एक करोड ११ लाख ५५ हजार ८८२ रुपियाँ गरेर २७ करोड ८८ लाख ३६ हजार १११ रुपियाँको क्षति भएको छ ।
यसअघि उपमहानगर कार्यालय र बाहिरका सटरहरुमा भएको क्षतिको विवरण सङ्कलन गर्न वरिष्ठ प्रशासन अधिकृत कृष्णप्रसाद जोशीको नेतृत्वमा २१ सदस्यीय मुचुल्का तयारी समिति गठन गरिएको थियो ।
उक्त समितिले क्षतिको विवरण सङ्कलन गरी कार्यालयलाई बुझाएको हो । ‘‘क्षतिको विवरण तयार पारेर मुचुल्का तयार पारिएपछि यकिन तथ्याङ्क प्राप्त भएको छ । उक्त विवरण अनुसारको जानकारी प्रदेशदेखि केन्द्रसम्म गराइएको छ,’’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।
आगलागीबाट उपमहानगरको प्राङ्गणमा रहेका कार्यालय र कर्मचारीका गरेर ३२ वटा साना ठुला सवारी साधनसमेत नष्ट भएका थिए भने एउटा एम्बुलेन्स ध्वस्त भएको थियो ।