सुधा देव
भारदह(सप्तरी), असोज ८ गते । राजविराज नगरपालिका ४ का मुस्लिम महिलाहरू टोलको सुरक्षाका लागि विगत पाँच दिनदेखि रातभरि गस्ती गर्दै आएका छन् ।
जेनजीको आन्दोलनपछि टोल असुरक्षित भएको महसुस गर्दै उनीहरू रातभरि गस्ती गरेर सुरक्षा दिन थालेका हुन् । टोलमा दिनहुँ राति १२ बजेपछि भारतीय मोटरसाइकलमा केही व्यक्ति आएर टोलमा घुमेर चियो गर्न थालेपछि महिलाहरू टोलको सुरक्षामा खटिन थालेको स्थानीयले बताए ।
हाम्रो टोलका अधिकांस पुरूषहरू वैदेशिक रोजगारीमा छन् । पुरूष नभएपछि आफ्नो घर र टोल जोगाउन हामी महिलाहरू सुरक्षाका लागि विगत पाँच दिनदेखि गस्ती गर्दै आएको स्थानीय सम्सा खातुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘केही अपरिचित व्यक्ति दिनहुँ टोलमा ओहर दोहर गर्छन् । टाढा पुगेपछि नबुझिने भाषामा बोल्छन् । हामीलाई गस्ती गरेको देखेर फर्किने गरेका छन् ।’’
उहाँले ससाना केटाकेटीहरू छन् । कति बेला के गर्छ ? थाहा छैन । डराएर बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । घर र छोराछोरीलाई सुरक्षित राख्ने उद्देश्यले रातभरि गस्ती गर्दा ज्यान जोखिममा पर्ने चिन्ता रहेको सोही ठाउँकी सफिना अंसारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा सुरक्षामा चुनौती छ । चोरी लुटपाट बढेपछि असुरक्षा महसुस गरी यस विषयमा प्रहरीलाई जानकारी गराए पनि प्रहरी कुनै सुनुवाइ भएको छैन । पहिले कहिलेकाहीँ टोलमा गस्तीमा आउने प्रहरी दुई हप्तादेखि आउन छोडेका छन् ।’’
यस विषयमा आफुलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस विषयमा मलाई कुनै जानकारी दिइएको छैन । गस्तीमा प्रहरी खटाउनेछौँ ।’’