प्रेमराज सिम्खडा
कालीकोट, असोज ८ गते । हिन्दुहरुको महान् चाड दशैंका लागि हिमाली भेडा रोजाइमा पर्छन् । नागरिकस्तरबाट माग बढेपछि व्यापारीहरुले हिमाली भेडा सुर्खेत लगायतको शहरमा पुगाएका छन् ।
रास्कोटबाट हिमाली भेडा ब्यापारीले सुर्खेतमा पुगाएका छन् । सुर्खेतको रेडियो नेपाल चोकमा भेडाको मोलमोलाई भइरहेको छ । भेडा खरिदका लागि त्यहाँ पुग्नु भएका चक्रबहादुर जिसिले भेडाको माग बढिरहेको बताउनुभयो ।
हिमाली क्षेत्रमा चरेको भेडाको मासु प्रयोगले उपभोक्ताको स्वास्थ्य राम्रो हुने जिसिको बुझाइ छ । म त रोजगारीको सिलसिलामा जुम्ला बस्छु, यस्ता भेडाको मासु प्रायः खाइरहन्छु, उहाँले भन्नुभयो । खानामा मिठो, हिमाली जडीबुटीसमेत चरेकाले हिमाली भेडाको मासु खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विश्वास नागरिकहरुको छ ।
पछिल्लो समय सुर्खेत, नेपालगञ्ज, धनगढी, दाङसम्म कालीकोट, जुम्ला, हुम्ला मुगु र डोल्पातिरको भेडा दशैँमा पुग्नेगरेको छ । जिउँदा किन्दा प्रतिकिलो छसय रुपियाँ र काटेको मासु किन्दा एक हजार प्रतिकिलो मूल्य पर्ने गरेको छ । घरमा पालेका खसी बरावर नै मूल्य पर्ने भएकाले जोकोहीको रोजाइमा हिमाली भेडा पर्ने गरेका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएकाले हिमाली भेडाको काँचो रगत पिउँदा राम्रो हुने हिमालका मान्छेको भनाइ छ । शरीरमा रगतको मात्रा कम, जिउ काँप्ने, रिँगटा लाग्नेजस्ता समस्या देखिएमा हिमालका मान्छेले हिमाली भेडा काट्ने र त्यहीबेला निस्केको तातो रगत पिउने गर्दछन् । त्यसले स्वास्थ्य सुधार हुने उनीहरुको विश्वास छ ।