पैँतीस वर्षमै नगरप्रमुख
बाँके समाचारदाताबाँके, जेठ ९ गते । बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार १३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।विजयी भएका नगरपालिका प्रमुखहरूमध्ये उहाँ सबैभन्दा कान्छो हुनुहुन्छ।नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २०५ र नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९ हजार ७२५ मत पाउनुभयो । उपप्रमुखमा कांग्रेसकै सङ्गीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ। एमालेका अस्मिता कुमारी थारूले १३ हजार ५१७ र नेकपा (एकीकृत समाजवादी)का नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गर्नुभएको छ ।कोहलपुर नगरपालिकामा यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरप्रमुख हुनुहुन्थ्यो । रावत २०४९ र २०५४ मा साबिक कोहलपुर गाविसको अध्यक्ष तथा २०७४ मा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गर्नुभएको हो । नगरप्रमुखमा निर्वाचित भएपछि आचार्यले पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरलाई समृद्ध र नमसना सहरका रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “सबै पक्षको साथ र सहयोगमा नयाँ नेतृत्व अघि बढ्नेछ,” प्रमुख आचार्यले भन्नुभयो,– “योजनाबद्ध विकास गरे कोहलपुरलाई नमुना योग्य बनाउनेछौँ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालले विजयी भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्धिन मुसलमानले एमाले उम्मेदवार रमाउती यादवलाई पराजित गर्नुभएको हो।
बाँकेमा काँग्रेस ६, माओवादी केन्द्र र जसपाकाे एक/एकमा जित, पहिलो पटक एमाले शून्य
हरेक दृष्टिकोणले पश्चिम नेपालको केन्द्र रहेको बाँके जिल्लाका ८ वटा पालिकामध्ये नेकपा एमालेले यस पटक एउटा पनि पालिकामा प्रमुख र उपप्रमुखमा जित्न सकेन । २०७४ सालको स्थानीय निर्वाचनमा चारवटा पालिका जितेको एमालेले यो निर्वाचनमा कुनै पनि पालिकामा विजयी हुन सकेन ।
विदेशको सीप र आम्दानी गाउँमा लगानी
गणेश पौडेलपर्वत, जेठ ८ गते । पर्वतको कुश्मा नगरपालिका –९ कटुवाचौपारीको चिन्ने खोलानजिकै बस्दैआएका ३३ वर्षीय सुवास नेपालीले विदेशमा दुःख गरी कमाएको पैसा गाउँमा फर्केर लगानी गर्नुभयो । लामो समयको मलेसिया बसाइपछि नेपाल फर्किनुभएका नेपालीले मलेसियामा मासिक झन्डै ६० हजार रुपियाँ कमाएको रकमबाट झन्डै १७ लाख रुपियाँको लगानीमा कटुवाचौपारीमा कुखुरा फार्म सुरु गर्नुभयो । अहिले उहाँले मासिक तीन लाख रुपियाँको कारोबार गरिरहनुभएको छ । नेपाल रहँदा रोजगारीको कुनै बाटो नपाएका नेपालीले विदेश पुगेपछि नेपालमा गर्न सकिने कामको सम्भावना बारेमा सपना देखेर केही वर्ष विदेशमा काम गर्नुभयो । त्यहाँ कमाएको रुपियाँलाई गाउँमै लगानी गरेर व्यावसायिक सफलता हात पार्ने सपना उहाँमा थियो । नेपालीले तयारी अवस्थामा रहेको कुखुराको फर्म किनेर कुखुरापालन व्यवसाय सुरु गर्नुभयो । उहाँको फर्ममा अहिले झन्डै डेढसयको सङ्ख्यामा टर्की, झन्डै एक हजार ब्रोइलर, झन्डै ११ सय लोकल जातका कुखुरा छन् । विदेशमा बसेको भन्दा आफ्नै परिवारको साथमा रहेर गरेको कामले सुख र आयआर्जन समेत भएको उहाँको भनाइ छ । ‘अरूको देशमा काम गरेर खान सजिलो कहाँ छ र ? आफ्नो देशमा उपाय नदेखेको बेलामा त्यही भएपनि राहत हुन्छ भनेर गएको हुँ । तर आफ्नो मातृभूमिमा काम गरेको जस्तो विदेशमा छैन’ नेपालीले भन्नुभयो, “अहिले परिवारको साथमा बस्न पाएको छुँ । कसैको गाली खानुपरेको छैन ।”नेपालीले ‘सुवित पशुपक्षी तथा कृषि फार्म’ का लागि चल्ला उत्पादनको ह्याचरी मेसिन र जेनरेटरसमेत जडान गरेर व्यवसाय चलाउँदै आउनुभएको छ । उहाँको फर्मबाट लोकल कुखुरा प्रतिगोटा १५ सयसम्म, टर्कीको प्रतिकिलो सातसय ५० रुपियाँमा बिक्री हुनेगरेको छ । ब्रोइलर कुखुराको मूल्य पर्वतमा हप्ता दिनमै तलमाथि भइरहेको छ ।उहाँका अनुसार महिनामा खर्चसहित करिब तीन लाख रुपियाँको कारोबार हुनेगरेको छ । जसमा आधा खर्च कटाएर पनि कम्तीमा एक लाख रुपियाँ बचत हुनेगरेको नेपालीले बताउनुभयो । एक दिनमा झन्डै दुई सयभन्दा बढी लोकल अण्डा उत्पादन हुनेगरेको र अण्डाले राम्रै बजार पाइरहेको उहाँको भनाइ छ ।आफ्नो फर्ममा आवश्यकताअनुसारको कुखुरा रहेको भए पनि बजारीकरणको व्यवस्थापन नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो । सामान्यतः पर्वत सदरमुकाम कुश्मा बजारमा तथा गाउँमा पनि टर्की जातको कुखुराको मासुको कारोबार भएको यदाकदा मात्र देख्न पाइन्छ । बजारमा लोकल कुखुरको माग भए पनि बजारभाउ राम्रो नभएकाले समस्या भएको उहाँले बताउनुभयो ।
सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्छाैं : श्रममन्त्री कृष्णकुमार श्रेष्ठ
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ८ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै मन्त्रालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । शिक्षालय स्थापनाको लागि आवश्यक अध्ययनका लागि बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मन्त्री कृष्णकुमार श्रेष्ठसहितको टोलीले अवलोकन गरेको छ । अवलोकनपछि मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना रहेको बताउनुुभयो । उहाँले देशमै नमुना मानिएको शिक्षालयको अवलोकनपछि सातवटै प्रदेशमा यस्तो शिक्षालयको आवश्यकता झनै महसुस भएको बताउनुुभयो ।मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताउनुुभयो ।मन्त्रालयका निमित्त सचिव एंव मन्त्रालयका प्रवक्ता डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताउनुुभयो ।उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षा सञ्चालनमा रहेको बताउनुुभयो । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।बुटवल १२ तामनगरमा रहेको कोरिया नेपाल बहुुप्राविधिक शिक्षालय अवलोकन । तस्वीर ः कपिल ज्ञवाली ।
तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याउनुभएको छ ।
जनप्रतिनिधिका लोकप्रिय निर्णय
शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन ।
विजयनगरमा पुनः एमाले उम्मेदवारको विजय
नारद कोहारतौलिहवा, जेठ ७ गते । कपिलबस्तुको विजयनगर गाँउपालिकामा नेकपा (एमाले) का अध्यक्ष गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी चौधरी पुनः दोहोरिनुभएको छ । स्थानिय तह निर्वाचन २०७४ मा समेत उहाँहरु एमालेबाट निर्वाचित हुनुहुन्थ्यो । अध्यक्षमा एमालेका उम्मेदवार थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार जानकीप्रसाद यादवले ५ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्षमा चौधरीले ४ हजार ९ सय ३० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८ सय ४९ मत प्राप्त गर्नुभयो । सात वटा वडा रहेको गाउँपालिकामा ६ वटामा एमाले र एकमा जसपाले वडाध्यक्ष जितेको छ ।
निर्वाचनपछि घर फर्किए म्यादी प्रहरी
नारद कोहारतौलिहवा, जेठ ७ गते । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई एक कार्यक्रमका वीच विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ९२३ म्यादी प्रहरीको सामूहिक बिदाई गरिएको हो ।स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नमा म्यादी प्रहरीको महत्वपूर्ण भुमिका रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत उहाँले विश्वास दिलाउनुभयो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनुभयो । बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेको छ । म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।पहिलो किस्तामा ४० दिनको रासन भत्ता, भ्रमण भत्ता र पोशाक भत्ता बैंक खातामार्फत भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो किस्ता कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।