जिप दुर्घटनामा छ जना घाइते
अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिका वडा नम्वर १४ करेचुलीमा मङ्गलबार जिप दुर्घटना भएकाे छ । अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाकाे साल्झण्डीतर्फ जाँदै गरेकाे लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे हाे ।
तयार भयो साइकल लेन
तुलसीपुर बजार क्षेत्रमा साइकल लेन तयार पारिएको छ । बजार क्षेत्रको सडक किनारा आकृति तोकिएर साइकललाई प्राथमिकता निर्धारण लेखिएको छ । साइकल लेन ‘माई वे तथा ग्रिन वे’ अभियानअन्तर्गत निर्माण गरिएको हो ।
घटेन महिला हिंसाका घटना
हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका थिए । आश्रय तीमध्ये ४५ महिला र २९ तिनमा आश्रित बालबालिका र अभिभावक थिए । उनीहरुमध्ये अधिकांश आफ्नै श्रीमान्बाट पीडित भए । श्रीमान्ले घरमा खान–बस्न नदिएपछि न्यायको ढोका ढकढक्याउन अवोध बालबालिका पिठ्यूमा च्यापेर सदरमुकाम धाएका उनीहरूले त्यहाँ कम्तीमा ४५ दिनसम्म आश्रय लिएका थिए ।
मानवअधिकार आयोगको सिफारिस न्यून कार्यान्वयन
राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा छानविन गरी सरकारलाई गरेको सिफारिस प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । आयोगको सिफारिस कार्यान्वयनका अवस्थाका बारेमा नेपालगञ्जमा आयोजित अन्तक्र्रियामा आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्यालद्वारा प्रस्तुत तथ्याङ्कमा १४प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख छ । विसं २०७८ मङ्सिर मसान्तसम्म एक हजार २३७ सिफारिस गरेको थियो । तीमध्ये कारबाही तथा क्षतिपूर्तिसम्बन्धी एक हजार १६७, नीतिगत व्यवस्थाका ११९ सिफारिस गरेको थियो । तीमध्ये १७३ मात्र पूर्ण कार्यान्वयन भएको छ । यो कूल सिफारिसको १४ प्रतिशत मात्र हो ।
गौतमबुद्ध विमानस्थलबाट थप दुई विदेशी कम्पनीले उडान भर्ने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी थपिन लागेका हुन् । विमानस्थल गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
पाँच पत्रकार पुरस्कृत
जिल्ला समन्वय समिति म्याग्दीले बिकास पत्रकारिता पुरस्कारबाट जिल्लाका पाँच जना पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा गोरखापत्रकर्मी ठाकुरप्रसाद आचार्य, कान्तिपुर दैनिकका घनश्याम खड्का, राससकर्मी ध्रुवसागर शर्मा, कमल खत्री र नागरिक दैनिकका पत्रकार हरिकृष्ण गौतम पुरस्कृत हुनुभएको हो ।
विजयनगरमा अस्पताल भवन शिलान्यास
कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।
सिकलसेलको निःशुल्क उपचारमा कठिनाई
सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भएपनि अपर्याप्त रहेको सो समुदायका पीडितहरुको बुझाई छ । नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपियाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
फेदिखोला गाउँपालिकामा कालाेपत्रे सडक निर्माण
फेदिखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ । जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदिखोलाले आफ्नै श्रोतबाट मोटरबाटो कालो पत्रे गरेको हो ।