• १२ असार २०८१, बुधबार

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

blog

गोदावरी (कैलाली),  जेठ ४  गते ।  जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध  किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । 

गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई  ट्र्याक्टर  वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताउनुभयो ।

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सो गाउँपालिकाका छवटै वडाबाट छनोट भएका ती किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिन लागेको उहाँले बताउनुभयो । किसानलाई अनुदानमा प्रति किसान रु एक लाख २५ हजारको लागतमा हाते ट्र्याक्टर वितरण हुन लागेको हो । 

कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइने कार्यक्रमलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । 

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएकाले कृषकलाई व्यावसायिक रुपमा कृषिमा आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । कृषि शाखाले चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा उन्नत जातका बीउबिजन, तरकारी राख्ने क्यारेट, विषादीलगायत सामग्री वितरण गरिसकेको जनाइएको छ ।

यसैगरी गाउँपालिका र जिआइजेडको लागत साझेदारीमा किसानको मागलाई ध्यानमा राखेर गाउँपालिकामा माटो परीक्षण ल्याब सञ्चालन गर्ने भएको छ । 

लागत साझेदारीमा चालु आवभित्रै सिँचाइका लागि गाउँपालिका छवटै वडामा दुई सय वटा सिमेन्ट ट्याङ्की, दुई वटा पोखरी, दुई वटा हाइटेक नर्सरी निर्माण गरिने चुरे गाउँपालिकाले जनाएको छ ।  रासस