• २६ असार २०८२, बिहिबार

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

blog

कैलाली,  असार २६ गते । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ । 

खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उहाँले बताउनुभयो । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु छ हजारमा बिक्री गर्ने गर्नुभएको छ ।

बङ्गुरपालनबाट गरेको कमाइले उहाँले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताउनुभयो । “बङ्गुरपालन राम्रै फापेको छ”, उहाँले भन्नुभयो, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।” 

चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु ९० हजार अनुदान प्राप्त गर्नुभएको छ । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उहाँले बताउनुभयो । उहाँ सफल कृषकका रुपमा समेत पुरस्कृत भइसक्नुभएको छ ।

सुरुका वर्षमा मासु बिक्री गर्नुभएका उहाँले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताउनुभयो । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उहाँको भनाइ छ । रासस