तिलोत्तमाको प्रमुखमा कांग्रेसका खांणको निरन्तर अग्रता, उपप्रमुखमा एमालेकी चौधरी पक्का
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ११ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता कायम राख्नुभएको छ । अब करिब १३ हजार मत गन्न बाँकी छ । अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९८५ मतान्तरले अगाडि हुनुहुन्छ । खाँणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मतका साथ पछ्याउनुभएको छ ।उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।१७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३, ४, ५, १२, १३, १५, १६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसक्नुभएको छ ।२०७४ को चुनावमा तिलोत्तमामा एमालेले प्रमुख–उपप्रमुखसहित १४ वडा जितेको थियो ।
तुलसीपुरको मतगणना अन्तिम चरणमा
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि हुनुहुन्छ ।
भेरी अस्पताल पुनः उत्कृष्ट
मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।
लालपुर्जाविहीन चाँचला बस्ती
घोराही उपमहा नगरपालिका–११, चाँचलामा बसोबास गर्दै आएका कुनै पनि नागरिकसँग लालपुर्जा छैन । कुनै समय चाँचला आँैलो रोगबाट बच्नका लागि दाङवासीको सुरक्षित क्षेत्र मानिन्थ्यो । त्यहाँ कुनै समय ७०÷८० घरधुरीको बसोबास थियो । चाँचला कहिले सल्यान त कहिले रोल्पा हुँदै अहिले दाङ जिल्लाको भूगोलमा पर्छ । २०३२ सालपूर्व त्यो भूगोल सल्यान जिल्लामा पथ्र्यो ।
एक्लो महिला वडाध्यक्ष चिदी
पाल्पा जिल्लामा ८१ वडा रहेकामा एक महिला मात्रै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । तिनाउ–५ को वडाध्यक्षमा नेकपा (एमाले)बाट इन्द्राकुमारी चिदी मात्रै निर्वाचित हुनुभएको हो । उहाँले माओवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार गणेश रास्कोटीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यो वडामा अन्य चार सदस्य भने माओवादीबाट निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति गठन : कतै एकल बहुमत, कतै गठबन्धन
स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । धेरैजसो स्थानीय तहको मत परिणाम आइसकेको छ भने कतिपय परिणाम आउन बाँकी छ । यसैबीच जिल्ला समन्वय समिति गठनका लागि चर्चा सुरु हुन थालेको छ । कतिपय जिल्लामा दलले जिल्ला समन्वय समितिका लागि एकल बहुमत ल्याएका छन् भने कतिपय जिल्लामा गठबन्धन गर्नुपर्ने देखिएको छ ।
फलाम देखाएर गहना लुट्ने दुई जना पक्राउ
रुपन्देहीको सैनामैनामा एक महिलालाई फलाम दिएर हातमा लगाएका सुनका गहना लिएर फरार भएका दुई जना पक्राउ परेका छन्।
रुपन्देहीमा जिसस गठनको तयारी सुरु, बहुमत नपुग्ने भएपछि गठबन्धन आवश्यक
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ १० गते । रुपन्देही जिल्लाको १६ पालिका मध्ये १५ पालिकाको नतिजा आइसकेको र एकको बाँकी रहँदा कुनै पनि पार्टीको जिसस गठनमा बहुमत देखिएपछि पार्टीहरुको आन्तरिक गृहकार्यमा जुटेका छन् । तिलोत्तमाको मतपरिणाम आउन बाँकी छ । यस नतिजाले पनि बहुमत पुग्ने देखिँदैन । पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ । सबै परिणामबाट पनि कसैको बहुमते नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने देखिन्छ । जिसस गठनजिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्लासभा गठन हुन्छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बस्नुपर्छ । उक्त सभाले जिसस गठन गर्छ । जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनु पर्नेछ । रुपन्देहीमा यस्तो छ अवस्था कुल मतभार ३२ (१६ पालिका) रहेको यस जिल्लामा नेपाली काँग्रेस– ९ प्रमुख, ४ उपप्रमुख, नेकपा एमाले– ३ प्रमुख, ७ उपप्रमुख, लोसपा– १ प्रमुख, २ उपप्रमुख, जनता प्रगतिशील पार्टी– १ प्रमुख, १ उपप्रमुख, जसपा– १ प्रमुख र राप्रपा– १ उपप्रमुख रहेका छन् ।
कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ १० गते । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । कोटहीमाई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै पद लोकतान्त्रिक समाजवादी पार्टीले जितेको हो । पालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा पनि सोही पार्टीकी सुशिलाकुमारी यादव विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित त्रिपाठीले ४ हजार ६३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाल जनता पार्टीका अशोककुमार जयसवालले ४ हजार २३९ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्षमा निर्वाचित यादवले ४ हजार ७३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार गुजराती यादवले ३ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । ७ वटा वडा रहेको कोटहीमाई गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा लोसपाका राजेश तेली, वडा नं. २ मा जसपाका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णुप्रसाद पाण्डे, वडा नं. ४ मा लोसपाका वेचुराम गडेरिया, वडा नं. ५ मा लोसपाका सञ्जयकुमार सैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं. ७ को अध्यक्षमा नेपाली काँग्रेसका पवनकुमार यादव विजयी हुनुभएको छ ।