• ४ जेठ २०८१, शुक्रबार

रुकुम पूर्वका सबै पालिकामा कार्यपालिकाले पूर्णता पायो

blog

राजु लामिछाने
रुकुम पूर्व, जेठ ११ गते ।
तीन वटा गाउँपालिका रहेको रुकुम पूर्वमा सबै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । जिल्लाको सिस्ने गाउँपालिकामा १६, भूमे गाउँपालिकामा १७ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २२ सदस्यीय कार्यपालिका बनेको हो ।

सिस्ने र भूमे गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । पुथाउत्तरगङ्गा गाउँपलिकामा भने महिला सदस्य मात्र निर्विरोध कार्यपालिका सदस्यमा चयन भएका छन् भने दलित तथा अल्पसङ्ख्यकमा तीन जनाको प्रतिस्पर्धा भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिस्नेका अनुसार सिस्ने गाउँपालिकामा महिला सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मिना केसी र सपुरी बुढा निर्विरोध हुनुभएको छ ।

दलित तथा अल्पसङ्ख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध हुनुभएको छ । उहाँहरु सबै नेकपा (माओवादी केन्द्र)का हुनुहुन्छ । १६ जनाको कार्यपालिकामा ११ जना माओवादी केन्द्रका एक जना कांग्रेसबाट र चार जना एमालेका छन् ।

भूमे गाउँपालिकामा पनि गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध भएका छन् । सहायक निर्वाचन अधिकृत चन्द्रसिंह श्रेष्ठले महिलामा कोटाबाट सुनकुमारी रोका, भिमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध हुनुभएको बताउनुभयो । यस्तै, दलित तथा अल्पसङ्ख्यकमा भागिलाल दमाई र चेतबहादुर कामी निर्विरोध हुनुभएको छ ।

भूमेमा गाउँ कार्यपालिका सदस्य पदको लागि छ जनाले मात्र मनोनयन दर्ता गराएका थिए । उहाँहरु सबै नेकपा माओवादी केन्द्रका हुनुहुन्छ ।

यस गाउँपालिकामा १७ जनाको कार्यपालिका समूह रहेकोमा १५ जना माओवादी केन्द्रबाट र एक–एक जना एमाले कांग्रेसबाट छन् ।

यस्तै, पुथाउत्तरगंगा गाउँपालिकामा पनि चारजना महिला सदस्य गाउँ कार्यपालिका सदस्य पदमा निर्विरोध भएका छन् । यस गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध हुनुभएको हो ।

निर्विरोध निर्वाचित सबै नेकपा माओवादी केन्द्रका हुनुहुन्छ । दलित तथा अल्पसङ्ख्यकमा भने तीन जनाबीचमा प्रतिस्पर्धा भएको थियो ।

माओवादी केन्द्रका जानु छन्त्याल, हर्कबहादुर कामी र स्वतन्त्रबाट राजकुमार सुनारबीचमा प्रतिस्पर्धा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावबाट माओवादी केन्द्रबाट जानु छन्त्याल र स्वतन्त्रबाट राजकुमार सुनार कार्यपालिका सदस्यमा चयन हुनुभएको छ । ७० जना मतदाता रहेकोमा छन्त्यालले ३७ मत, सुनारले ५१ मत र कामीले २९ मत प्राप्त गर्नुभएको थियो । जम्मा खसेको ६७ मतमा १७ मत बदर भएको निर्वाचन अधिकृत नारायण चाँपागाइले जानकारी दिनुभयो । २२ जनाको कार्यपालिकामा यस पालिकामा १८ जना माओवादी, दुई जना एमालेबाट, एक–एक जना कांग्रेस र स्वतन्त्रबाट  छन् ।