• ४ जेठ २०८१, शुक्रबार

सत्य निरुपण आयोगमा ६३ हजार ७१८ वटा उजुरी

blog

काठमाडौँ, वैशाख २० गते । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराउनुभएको हो । उहाँकाअनुसार एउटै घटनाको उजुरीहरू धेरै छन् ।

एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरू पनि हुनसक्ने बताउनुभयो । उहाँले उजुरीभन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार ५०२ वटा उजुरी परेको बताउनुभयो ।

सचिव सापकोटाले अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी परेको र तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनुभयो । उहाँले एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताउनु भयो । उहाँले सामान्य प्रकृतिका उजुरीहरू बढी रहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो ।

सचिव सापकोटाले भन्नुभयो, ‘‘जिल्ला वाइजको उजुरीमा जाँदा पाँच हजारभन्दा बढी एउटै जिल्लामा पनि उजुरी भएको अवस्था छ, सल्यानमा पाँच हजारभन्दा बढी उजुरी रहेका छन् । पाँच हजार ५०२ वटा उजुरी छन् । अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी छन् । तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा छ । एक हजार माथि १३ वटा छन् । एक हजार भन्दा मुनिका अरू उजुरीहरू छन् । सामान्य प्रकृतिका उजुरीहरू धेरै भएका छन् । हामीले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेका छौँ । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौँ ।’’

उहाँले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरूको निरूपण हुन जरुरी रहेको बताउनुभयो ।