• २१ असार २०८२, शनिबार

महोत्तरीको शताब्दी हुलाक

blog

रासन, धान, गहुँलगायत खाद्यान्न बिव्रmी गरिने स्थानलाई मधेशमा गोला भन्ने गरिन्छ । जलेश्वरमा सेनाका लागि रासन ल्याउन सन् १८६४ मा गोला (बजार) स्थापना गरिएको थियो । महाराजाको पदवी पाइसकेका र सैनिकको कमान्ड समहाल्ने गरेका रणोद्विप सिंहले जलेश्वरमा सेनाका लागि रासन उपलब्ध हुने गोला (बजार) स्थापना गर्न यज्ञनीधि पौडेललाई खटाइएको विषय मार्च १९८५ मा प्रकाशित रेग्मी रिसर्च सिरिज वर्ष १७ अङ्क ३ मा उल्लेख छ ।

प्रधानमन्त्री रणोद्विप सिंहको पालामा १९३५ साल (सन् १८७८) मा ‘नेपाल हुलाक घर’ को स्थापना भएको थियो । हुलाक सेवा विभागको वेबसाइट अनुसार सुरुमा काठमाडौँ र गोरखाबिच प्रारम्भ भएको हुलाक सेवा पाल्पा–काठमाडाँै हुँदै मुलुकभर विस्तार गरिएको थियो । स्थापनाको तीन वर्षभित्र देशको ४३ ठाउँमा हुलाक कार्यालय खोलिएकामध्ये महोत्तरीको जलेश्वरमा पनि हुलाक सेवा सञ्चालन भएको थियो । हुलाक घर स्थापना हुनुअगावै सरकारले खटाएकाको अर्जी र बिन्तीपत्र जम्मा गर्ने ठाउँलाई हुलाक दरबार भनेर सम्बोधन भएको समेत पाइन्छ । अनुसन्धानधाता डा. वुल्फग्याङ हेलफ्रिगलले सन् १८८० मा जलेश्वर हुलाकबाट पठाइएको एउटा पत्र सङ्कलन गरेका थिए । सन् १८८० मा प्रकाशित एक नक्सा अनुसार १९ औँ शताब्दी अन्तिमसम्म ५१ वटा ठाउँमा यो सेवाको पहुँच विस्तार भएको देखिन्छ ।

स्थापनाकालमा नेपाल हुलाक घर अहिलेको राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा थियो । तीन वर्षपछि हुलाक गोश्वारा भनेर लेख्न थालियो । डिल्लीबजारबाट १९९३ सालमा एक्सचेन्ज पोस्ट अफिसको काम सुरु भयो । त्यसपछि भद्रकालीमा गोश्वारा हुलाक भनेर कार्यालय सञ्चालनमा आएको पाइन्छ । भोटाहिटीको साझा भवनबाट २०१५ सालमा सञ्चालन भएको हुलाकको काम २०२३ मङ्सिर १६ बाट सुन्धारामा गोश्वारा हुलाक तथा वैदेशिक हुलाकको काम कारबाही सुरु भएको डा. दयाराम श्रेष्ठले २०८० असोजको हुलाक दी पोस्टमा चर्चा गर्नुभएको छ । सुन्धारास्थित भवन २०७२ सालको भूकम्पमा भत्किएपछि हुलाक सेवा विभागको काम कारबाही डिल्लीबजारबाट हुने गरेको छ । १९९३ सालपछि सर्वसाधारणले समेत हुलाक सेवा सहजै प्रयोग गर्न पाएका थिए । नेपाल र भारतबिच हुलाक सम्झौता भएपछि सर्वसाधारण नेपालीको हुलाक सेवा पहुँच भारतसम्म पुग्यो । एकअर्का देशकै टिकटमा पत्र पठाउन सहमति भएकाले यसबाट नेपाल–भारत सीमाना क्षेत्रमा बसोबास गर्नेले समेत लाभ लिन थाले । महोत्तरी जिल्लाको जलेश्वरमा हुलाक अड्डासँगै एक्सचेन्ज अफिस तथा सर्लाहीमा हुलाक अड्डा सञ्चालनमा आयो । त्यो समयमा काठमाडाैँ, पशुपतिनगर, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, बाँके, बैतडीमा एक्सचेन्ज अफिसको व्यवस्था थियो ।

हुलाक बोक्ने हुलाकीको सान नै बेग्लै । भालाको टुप्पोमा झुन्डाइएको घन्टी छिन्द्रिङ छिन्द्रिङ पार्दै पहाड, मधेश गर्ने हुलाकीलाई कसले रोक्ने बाटो ? के रात के दिन ? के झरी के घाम ? टुसुक्क पनि नबसी निरन्तर हिँडेर गाउँघरमा खबर छाड्ने हुलाकीले नचिनेको गाउँ र नचिनेको मानिस हुन्थेन । हुलाकीलाई मलामीले समेत बाटो छाड्थे, अहिलेका एम्बुलेन्सलाई सडक खाली गरे जस्तै । धागोले बाँधिएका चिठीले राम्रो नराम्रो सन्देश पहिचान हुन्थ्यो र त्यस्ता चिठी अझ द्रुत गतिमा पुर्‍याइन्थे । 

महोत्तरीमा हुलाक टिकट 

नेपाल हुलाक घरको स्थापना भएको दुई वर्षपछि तारिख टाँचा लगाउन सुरु भएको थियो । हुलाक टिकटको प्रकाशन १९३८ साल (सन् १८८१) बाट सुरु भएकै समयमा देशभर ४३ ठाउँमा हुलाक अड्डा (कार्यालय) सुरु भए । सोही वर्ष पहिलो पटक एक, दुई र चार आनाको हुलाक टिकट प्रकाशन भएको थियो । सुरुमा हुलाक टिकट विदेशबाट छाँपिएर ल्याइएको थियो । पछि जङ्गबहादुर राणाले बेलायतबाट ल्याएको प्रेसबाट टिकट प्रकाशन गरिन थालियो । हुलाक घरको कार्यालय जिल्ला जिल्लामा विस्तार हुने सुरुवाती समयमै महोत्तरीको जलेश्वरमा हुलाक अड्डा रहेको थप दुई वटा प्रमाणले पुष्टि गर्छ । 

सन् १८५० को दशकमा मधेश प्रदेशमा सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बारा जिल्ला मात्र रहेको थियो । तत्कालीन समयमा कर सङ्कलन गर्न जिल्लामा सुब्बा अथवा सुबेदार खटाइएका हुन्थे । अर्कोतर्फ मठका महन्थसमेत आफ्ना अधिनस्त जग्गाको कर सङ्कलन गर्ने गर्थे । राज्यबाट खटाइएका कर सङ्कलक र महन्थको सिधा पहुँच दरबारसम्म थियो । तत्कालीन समयमा हुलाक टिकटबाट रकम राज्यकोषमा जम्मा गर्ने जिम्मेवारीबारे त्यति प्रस्ट उल्लेख नभए पनि कर सङ्कलनको जिम्मेवारी पाएका सुबेदारको मातहतमा रहेको हुन सक्ने सम्भावना छ । हुलाक टिकट प्रयोगमा आएपछि १९३९ जेठ ३ गतेको दिन महोत्तरीको जलेश्वरबाट ‘सुबेदार मनिधोज पन्तले षजांञ्ची वामदेव पण्डितलाई सम्बोधन गर्दै नेपाल मुलुकी षानामा पत्र पठाएको’ भेटिएको छ ।

१९३९ भाद्र ८ गतेका दिन प्रधानमन्त्री रणोद्विप सिंह राणालाई महोत्तरीको मटिहानी स्थानबाट महन्थ ललित दासले नारायणहिटी दरबारमा पत्राचार गरेका थिए । मटिहानीको इतिहास लेख्ने अधिकांश इतिहासकारले महन्थ ललित दासको अवधि १९३१ मात्रै मान्दै दरबारमा पत्र पठाइएको कालखण्डमा महन्थ देवा दास भनेर लेख्ने गरेका थिए । यो तथ्यले मटिहानी स्थानको इतिहास लेखनमा थप मद्दत पुगेको छ । सन् १८८७ मा दुई पैसा पर्ने पोस्टकार्ड प्रयोगमा ल्याइएको थियो । महोत्तरीमा हुलाक टिकट प्रयोग भएको प्रमाण भेटिए पनि उहिल्यै प्रयोग भएका पोस्ट कार्ड खोजीनीति हुनुपर्ने जिल्ला हुलाक कार्यालय महोत्तरीका प्रमुख रामचन्द्र साहको धारणा छ ।

प्रधानमन्त्री चन्द्रशमशेर (सन् १९०१–२९) को समयमा हुलाक सेवा प्रभावकारी ढङ्गले अघि बढाइएको पाइन्छ । केही परिर्माजन र आधुनिकीकरण भई १९६४ सालमा हिमालको पृष्ठभूमिमा शिवको चित्र अङ्कित हुलाक टिकट प्रकाशन हुन थालेको थियो । कागते हुलाकी रकम व्यवस्थापनको निम्ति १९७०–७१ सालतिर (सन् १९१४) चिठीपत्र वितरण गर्नेलाई जग्गाजमिन दिइएको अनुसन्धानकर्ता हेमनारायण अग्रवालको दाबी थियो । उदयपुर हुलाक गोश्वरा सवाल १९६८ तथा काठमाडौँ हुलाक गोश्वारा सवाल १९७४ सालमा प्रकाशित दस्ताबेज भेटिएकोले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा हुलाक अड्डालाई छुट्टै कानुन (सवाल) मार्फत हुलाक गोश्वारा भनेर सञ्चालन गर्न सुरु गरेको दाबी गर्न सकिन्छ । पुराना कागजातमा हुलाक कार्यालयलाई हुलाक गोश्वरा भनेर लेखिएको पाइन्छ । बिन्तीपत्र पठाउँदा एक रुपियाँको हुलाक टिकट अनिवार्य गरिएको थियो ।  प्रशासनिक कामका लागि प्रधानमन्त्री जुद्धशमशेर (सन् १९३२–४५) को समयसम्म पूर्र्वी र पश्चिमी तराईमा जम्मा आठ वटा गोश्वारा तथा एउटा छोटी गोश्वारा रहेका थिए । पूर्र्वी तराई अन्तर्गत झापामा छोटी गोश्वारा थियो । वीरगन्ज, महोत्तरी, सप्तरी र विराटनगरलाई गोश्वाराको मान्यता थियो । दस्ताबेजमा तराईलाई पूर्र्वी र पश्चिमी भनेर विभाजन गरी गोश्वाराको जिम्मेवारी दिइएको थियो । पश्चिमी तराई अन्तर्गतको चार वटा गोश्वारा पाली मझिमखण्ड, स्वराज खजहनी, बाँके–बर्दिया र कञ्चनपुर–कैलालीमा रहेको थियो ।

प्रधानमन्त्री चन्द्रशमशेरको समयदेखि बडाहाकिमको मातहतमा गोश्वारा, माल अड्डा, अमिनी कचहरी, थाना तथा अन्य (विविध) अड्डा रहने व्यवस्था थियो । विविध अड्डा अन्तर्गत हुलाक कार्यालय राखिएका थिए । कार्यालय प्रमुखको जिम्मेवारी खरिदारले पाउने गर्दथे । खरिदार हाकिमलाई लेफ्टेन खरिदार भनेर समेत सम्बोधन गरिन्थ्यो । तत्कालीन समयमा खरिदारभन्दा मुनि डिट्ठा, नायब डिट्ठा, मुखिया, नायब मुखिया, राइटर, नायब राइटर, बहिदार र नौसिन्दा, हुलाकीको दरबन्दी हुने गर्दथ्यो ।  गोश्वाराको मातहतमा माल अड्डा, त्यसको मातहतमा मौजे तथा मौजेको मातहतमा गाउँहरू रहने व्यवस्था थियो । जमिनदार तथा पटवारीले ठेक्का लिएका मौजे अन्तर्गतको गाउँबाट कर सङ्कलन गरी बुझाउनु पर्दथ्यो । 

२०१० सालमा प्रकाशित एक तथ्याङ्क अनुसार वीरगन्ज, पाली, मझिमखण्ड, विराटनगर र महोत्तरीलाई ‘क’ श्रेणीको गोश्वारामा राखेर बडाहाकिमलाई मासिक ४५० देखि नौ सय नेपाली रुपियाँ तलब दिइन्थ्यो । हुलाक अड्डाको दरबन्दी सम्बन्धमा १९९० सालमा छुट्टाछुट्टै पूर्र्वी र पश्चिमी हुलाक गोश्वारा दरबन्दी सवालको कानुन ल्याइएको थियो । २०१८ सालमा प्रशासनिक काम कारबाहीका निम्ति १४ अञ्चल र ७५ जिल्लामा विकेन्द्रीकरण गरिएपछि २०२२ सालमा अञ्चल हुलाक नियन्त्रण कार्यालय स्थापना भएको थियो । जनकपुर अञ्चलको सदरमुकाम जलेश्वरमा अञ्चलाधीशको कार्यालय रहेकोले हुलाकको अञ्चलस्तरीय कार्यालय यसै ठाउँबाट सञ्चालनमा आएको थियो । हाल जिल्ला हुलाक कार्यालयको नयाँ भवनको दक्षिणतर्फ रहेको भवनबाट तत्कालीन समयमा हुलाक सेवा सञ्चालन हुने गरेको थियो ।          

टिकटमा महोत्तरी 

हुलाक टिकट प्रकाशन हुनुभन्दा अगाडिसम्म टिकटबापतको नगद रकम अर्जीका साथ दिनुपर्ने नियम बनाइएको थियो । पहिलो पटक सन् १८८१ मा प्रकाशन भएको र महोत्तरीबाट सन् १८८२ मा प्रयोग भएको हुलाक टिकट एक आनाको थियो । सोही समयमा दुई र चार आनाको टिकटसमेत प्रकाशन भएको पाइन्छ । त्यसको केही वर्षपछि १६ आनासम्मको टिकट प्रकाशन भएको देखिन्छ । टिकटमा माथि श्री गोरखा तथा तल सरकार लेखिएको हुन्थ्यो भने दायाँ र बाँया भागमा मूल्य लेखिएको हुन्थ्यो । श्री गोरखा सरकारको ठाउँमा १९८६ साल (सन् १९२९) देखि नेपाल सरकार अङ्कित गर्न थालिएको हो । जानकीमन्दिरको चित्रलाई २०२५ साल (सन् १९६८) मा हुलाक टिकटमा समावेश गरिएको हो । सीता जयन्तीका अवसरमा प्रकाशित सो हुलाक टिकटको मूल्य १५ पैसा राखिएको थियो । 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरलाई चिनाउने जलेश्वर महादेव मन्दिरको चित्रलाई २०४२ साल (सन् १९८५) मा हुलाक टिकटमा समावेश गरिएको पाइन्छ । जलेश्वर आदर्श ग्राम पञ्चायतबाट नगरमा स्तरोन्नति भएको तीन वर्षपछि हुलाक टिकटमा जलेश्वर महादेव मन्दिर समावेश हुनुलाई त्यतिबेला प्रतिष्ठासँग जोडिएको थियो । जलेश्वर महादेवको चित्रअङ्कित हुलाक टिकटको मूल्य १० पैसा थियो ।