• ४ साउन २०८२, आइतबार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग गरियो

blog

कुमाख गाउँपालिका वडा नं, १ मा निर्माण गरिएको रिचार्ज पोखरी । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, असार २१ गते ।
सल्यानमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षण एवम् जलवायु अनुकुलनका संरचना निर्माणमा उपयोग गरिएको छ । वैकल्पिक रोजगारी सिर्जना गर्ने कार्यक्रमसँगै जलवायु प्रतिरोधात्मक संरचना निर्माण र दिगो विकासका आधार निर्माण गर्ने अवसरको रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपयोग गरिएको हो ।

जस अनुसार जिल्लाको कुमाख गाउँपालिकामा खानेपानी परियोजनाअन्तर्गत तीन वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । वडा नं, १ स्थित चिसापानीदेखि भेरी माध्यमिक विद्यालय टाट्केसम्मको खानेपानी परियोजनामा जल स्रोत संरक्षण र भू–जल पुनर्भरणको क्रियाकलाप पनि सञ्चालन गरिएको हो । वडाका बेरोजगार श्रमिकहरू, रोजगार कार्यक्रमको ज्याला रकम, तथा गाउँपालिकाको साझेदारी बजेटबाट खानेपानी योजनासँगै तीन वटा रिचार्ज पोखरी निर्माण गरिएको कुमाख गाउँपालिकाका रोजगार संयोजक तथा वन, वातावरण तथा जलवायु परिवर्तन शाखा प्रमुख जीवन शर्माले जानकारी दिनुभयो ।

खानेपानीको मुहानभन्दा माथिल्लो भागमा निर्माण गरिएका रिचार्ज पोखरीहरूले वर्षाको पानीलाई भूमिमा पुनः प्रवेश गराउने भएको हुँदा यसले भू–जल स्तरमा वृद्धि ल्याउने र दीर्घकालीन रूपमा खानेपानी श्रोतको संरक्षणमा सघाउने गाउँपालिकाको अपेक्षा रहेको छ । 

कुमाख, १  का वडाध्यक्ष डिल्लीबहादुर रानाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । योजनाअन्तर्गत खानेपानीको मुहानमा नयाँ इन्टेक संरचना निर्माण गरिएको छ भने भेरी माध्यमिक विद्यालय नजिकै पानी सङ्कलन र आपूर्ति व्यवस्थापनका लागि ट्याङ्की निर्माण गरिएको छ । विद्यालयका प्रधानाध्यापक पदम कुमालले अब विद्यालयमा २४ सैं घण्टा स्वच्छ खानेपानीको सुविधा हुने बताउनुभयो । अनियमित वर्षा, लामो खडेरी र पानीका श्रोतहरू सुक्नु जस्ता जलवायु परिवर्तनका चुनौती सामना गर्न यस्ता साना तर प्रभावकारी संरचनाहरू उपयोगी हुने अपेक्षा गरिएको छ ।