• ४ जेठ २०८१, शुक्रबार

जिल्ला समन्वय समिति गठन : कतै एकल बहुमत, कतै गठबन्धन

blog

लुम्बिनी ब्युरो

लुम्बिनी, जेठ ११ गते ।  स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । धेरैजसो स्थानीय तहको मत परिणाम आइसकेको छ भने कतिपय परिणाम आउन बाँकी छ । यसैबीच जिल्ला समन्वय समिति गठनका लागि चर्चा सुरु हुन थालेको छ । कतिपय जिल्लामा दलले जिल्ला समन्वय समितिका लागि एकल बहुमत ल्याएका छन् भने कतिपय जिल्लामा गठबन्धन गर्नुपर्ने देखिएको छ । 

दाङमा कांग्रेसलाई बहुमत 

घोराही समाचारदाताका अनुसार जिल्ला समन्वय समिति गठन गर्न दाङमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये नौ तहको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको हो । 

जिल्लाका १० वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाको मत परिणाम अझै आउन सकेको छैन । सार्वजनिक भएको नतिजाअनुसार जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको शतप्रतिशत प्रतिनिधित्व हुने देखिएको छ ।

तीमध्ये पाँचवटा पालिका प्रमुख एवं अध्यक्ष र सात पालिकामा उपप्रमुख एवं उपाध्यक्षमा जित निकाल्दै अहिलेसम्म प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष गरी १२ पद जितेको छ । यस आधारमा कांग्रेसका लागि जिल्ला समन्वय समिति गठनका लागि एकल बहुमत पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहँदा कांग्रेसले जिल्लामा स्पष्ट बहुमत प्राप्त गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले बताउनुभएको छ । “जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ,” उहाँले भन्नुभयो, “तुलसीपुर उपमहानगरपालिकाको मत परिणाम नआइसकेकाले जिल्ला समन्वय समिति गठनका लागि छलफल हुन सकेको छैन ।”

कांग्रेसले एकल रूपमै लमही नगरपालिका प्रमुख र उपप्रमुखसँगै बबई गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, दङ्गीशरण गाउँपालिकामा अध्यक्ष– उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष– उपाध्यक्ष र बङ्गलाचुली गाउँपालिका तथा गढवा गाउँपालिकामा एक÷एक जना उपाध्यक्ष जितेर जिल्लामा बहुमत देखाएको हो ।

नेकपा (माओवादी केन्द्र)ले तीन स्थानीय तहमा प्रमुख जितेको छ । बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ । त्यसैगरी नेकपा (एमाले)ले घोराही उपमहानगरपालिका प्रमुख–उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । यसले गर्दा एमाले र माओवादीबीच गठबन्धन गर्दा पनि बहुमत पुग्ने देखिँदैन । 

तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी रहँदा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार अगाडि रहनुभएको छ । एमालेका उम्मेदवारले तुलसीपुर उपमहानगरपालिका जिते पनि समन्वय समिति गठनका लागि बहुमत पुग्दैन ।

जिल्लाको स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा कांग्रेस माओवादीको गठबन्धन भए पनि जित्न सकेनन् । जिल्ला समन्वय समितिको निर्वाचनमा २० मत छ । त्यसमा १२ काँग्रेसले जितिसकेको छ भने माओवादी केन्द्रले तीन र एमालेले तीन जितिसकेको छ । तुलसीपुरका दुई पदमा मतगणना जारी छ । अन्तिम परिणाम आइसकेको छैन ।

एमालेले पाउने निश्चित

तानसेन समाचारदाताका अनुसार जिल्ला समन्वय समिति पाल्पाको नेतृत्व एमालेबाट बन्ने निश्चित भएको छ । पाल्पाका १० स्थानीय तहमध्ये प्रमुख र उपप्रमुखमा बहुमत सङ्ख्या एमालेको छ । 

जिल्ला समन्वय समिति गठनका लागि १० स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष एवं उपाध्यक्षमध्ये एमालेको मात्र ११ मत छ । गठबन्धनतर्फबाट कांग्रेसको छ र माओवादी केन्द्रको तीन मत छ । एमालेले पाँचवटा पालिकामा अध्यक्षसहित उपाध्यक्ष जितेको छ भने एउटा पालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले तानसेन र रैनादेवी छहरा प्रमुख तथा रामपुरमा प्रमुख–उपप्रमुख जितेको छ । माओवादी केन्द्रले रिब्दीकोटको प्रमुख, तानसेन र रैनादेवी छहरामा उपप्रमुख जितेको छ । 

जिसस प्रमुख र उपप्रमुख एमालेले पाउने भएपछि एमाले वृत्तमा रामपुर नगरपालिका–१०, गेझाका टङ्क खनालको नाम चर्चामा छ । उपप्रमुखमा भने तानसेन नगरपालिका–१४, अर्गलीकी वसन्ता ज्ञवाली र तानसेन नगरपालिका–९ की काशिका गैरेको नाम चर्चामा छ तर एमालेले कसलाई जिसस प्रमुख र उपप्रमुख बनाउने हो भन्ने विषयमा अहिलेसम्म निर्णय नगरिसकेको जिल्ला सचिव रामजी पोखरेलले बताउनुभयो । 

कुनै दलको पनि बहुमत नपुग्ने 

सिद्धार्थनगर समाचारदाताका अनुसार १६ पालिका रहेको रुपन्देहीमा १५ पालिकाको नतिजा आइसकेको छ तर पालिकाहरूको अन्तिम मत परिणाम सार्वजनिक हुँदै गर्दा जिल्ला समन्वय समिति (जिसस) गठनको रस्साकस्सी पनि सुरु भएको छ । जिल्लाका पालिकाबीच समन्वय गर्न जिसस गठन गर्ने संवैधानिक व्यवस्था छ । पालिकाबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ । निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र सभा बसिसक्नुपर्ने हुन्छ । उक्त सभाले जिसस गठन गर्नुपर्ने व्यवस्था छ । 

जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र एक दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँ सभा वा नगर सभा सदस्य हुनुपर्नेछ । 

रुपन्देहीमा हालसम्म कांग्रेसबाट नौ प्रमुख, चार उपप्रमुख; एमालेबाट तीन प्रमुख, सात उपप्रमुख; लोसपाबाट एक प्रमुख, दुई उपप्रमुख; जनता प्रगतिशील पार्टीबाट एक प्रमुख, एक उपप्रमुख; जसपाबाट एक प्रमुख र राप्रपाबाट एक उपप्रमुख पदमा विजयी भएका छन् । तिलोत्तमाको मत परिणाम आइसकेको छैन । यहाँको नतिजाले पनि स्पष्ट बहुमत दिनसक्ने अवस्था छैन ।