• ४ जेठ २०८१, शुक्रबार

निर्वाचनपछि घर फर्किए म्यादी प्रहरी

blog

विदाई कार्यक्रममा म्यादी प्रहरीलाई प्रसंशापत्र प्रदान गरिदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, जेठ ७ गते । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई एक कार्यक्रमका वीच विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ९२३ म्यादी प्रहरीको सामूहिक बिदाई गरिएको  हो ।

स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नमा म्यादी प्रहरीको महत्वपूर्ण भुमिका  रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत उहाँले विश्वास दिलाउनुभयो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।

सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनुभयो । बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेको छ । म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

पहिलो किस्तामा ४० दिनको रासन भत्ता, भ्रमण भत्ता र पोशाक भत्ता बैंक खातामार्फत भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो किस्ता कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।