• ४ जेठ २०८१, शुक्रबार

विदेशको सीप र आम्दानी गाउँमा लगानी

blog

गणेश पौडेल

पर्वत, जेठ ८ गते । पर्वतको कुश्मा नगरपालिका –९ कटुवाचौपारीको चिन्ने खोलानजिकै बस्दैआएका ३३ वर्षीय सुवास नेपालीले विदेशमा दुःख गरी कमाएको पैसा गाउँमा फर्केर लगानी गर्नुभयो । लामो समयको मलेसिया बसाइपछि नेपाल फर्किनुभएका नेपालीले मलेसियामा मासिक झन्डै ६० हजार रुपियाँ कमाएको रकमबाट झन्डै १७ लाख रुपियाँको लगानीमा कटुवाचौपारीमा कुखुरा फार्म सुरु गर्नुभयो । अहिले उहाँले मासिक तीन लाख रुपियाँको कारोबार गरिरहनुभएको छ । 

नेपाल रहँदा रोजगारीको कुनै बाटो नपाएका नेपालीले विदेश पुगेपछि नेपालमा गर्न सकिने कामको सम्भावना बारेमा सपना देखेर केही वर्ष विदेशमा काम गर्नुभयो । त्यहाँ कमाएको रुपियाँलाई गाउँमै लगानी गरेर व्यावसायिक सफलता हात पार्ने सपना उहाँमा थियो । 

नेपालीले तयारी अवस्थामा रहेको कुखुराको फर्म किनेर कुखुरापालन व्यवसाय सुरु गर्नुभयो । उहाँको फर्ममा अहिले झन्डै डेढसयको सङ्ख्यामा टर्की, झन्डै एक हजार ब्रोइलर, झन्डै ११ सय लोकल जातका कुखुरा छन् । विदेशमा बसेको भन्दा आफ्नै परिवारको साथमा रहेर गरेको कामले सुख र आयआर्जन समेत भएको उहाँको भनाइ छ । 

‘अरूको देशमा काम गरेर खान सजिलो कहाँ छ र ? आफ्नो देशमा उपाय नदेखेको बेलामा त्यही भएपनि राहत हुन्छ भनेर गएको हुँ । तर आफ्नो मातृभूमिमा काम गरेको जस्तो विदेशमा छैन’ नेपालीले भन्नुभयो, “अहिले परिवारको साथमा बस्न पाएको छुँ । कसैको गाली खानुपरेको छैन ।”

नेपालीले ‘सुवित पशुपक्षी तथा कृषि फार्म’ का लागि चल्ला उत्पादनको ह्याचरी मेसिन र जेनरेटरसमेत जडान गरेर व्यवसाय चलाउँदै आउनुभएको छ । उहाँको फर्मबाट लोकल कुखुरा प्रतिगोटा १५ सयसम्म, टर्कीको प्रतिकिलो सातसय ५० रुपियाँमा बिक्री हुनेगरेको छ । ब्रोइलर कुखुराको मूल्य पर्वतमा हप्ता दिनमै तलमाथि भइरहेको छ ।

उहाँका अनुसार महिनामा खर्चसहित करिब तीन लाख रुपियाँको कारोबार हुनेगरेको छ । जसमा आधा खर्च कटाएर पनि कम्तीमा एक लाख रुपियाँ बचत हुनेगरेको नेपालीले बताउनुभयो । एक दिनमा झन्डै दुई सयभन्दा बढी लोकल अण्डा उत्पादन हुनेगरेको र अण्डाले राम्रै बजार पाइरहेको उहाँको भनाइ छ ।

आफ्नो फर्ममा आवश्यकताअनुसारको कुखुरा रहेको भए पनि बजारीकरणको व्यवस्थापन नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो । सामान्यतः पर्वत सदरमुकाम कुश्मा बजारमा तथा गाउँमा पनि टर्की जातको कुखुराको मासुको कारोबार भएको यदाकदा मात्र देख्न पाइन्छ । बजारमा लोकल कुखुरको माग भए पनि बजारभाउ राम्रो नभएकाले समस्या भएको उहाँले बताउनुभयो ।