• १७ कात्तिक २०८२, सोमबार

मालिका पूर्णिमा पर्वको अवसरमा मुसिकोट सार्वजनिक बिदा

blog

मुसिकोट नगरपालिका गुल्मीको कार्यालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक १७ गते । गुल्मीको मुसिकोट नगरपालिकाले बैकुण्ठ चतुर्दशी (मालिका पूर्णिमा पर्व) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले कात्तिक १८ गते आइतबारका दिन सम्पूर्ण वडा कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संस्थाहरूमा बिदा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले जानकारी दिनुभयो । 

गुल्मीको मुसिकोट नगरपालिका-६ को प्रसिद्ध कुर्घा मालिका मन्दिरमा चिच्याएर वर माग्ने चलन छ । मन्दिरमा संघ र प्रदेशबाट कुर्घा मालिका लगायतका धार्मिक पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण, जीर्णोद्धारसहितको विकासमा थुप्रै काम भइरहेका छन् ।

मालिकाका बारेमा कतिपय पुराणहरूमा चर्चा गरिएको छ। स्थानीयका अनुसार मालिका मन्दिर द्वापर युगको अन्त्यतिर स्थापना भएको हो। मालिका भगवती प्रकट भएर माल्याश्री नामका ऋषिलाई बरदान दिएपछि मालिकाको उत्पति भएको बताइन्छ। अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्याश्री ऋषिको आश्रम रहेको विश्वास छ।

पहाडको भित्र मालिका भगवती भएको धार्मिक विश्वाससहित अहिले पनि यहाँ आएर चिच्याएर वर माग्ने चलन छ। यस मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्रम बस्ने, भजनकिर्तन गर्ने, सुनीमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताउनुभयो। 

नजिकै कुर्घा गुरुङ होमस्टे रहेको छ । संघीयतापछि कुर्घा मालिका संरक्षण र विकासको आशा जागेको स्थानीयहरू बताउँछन्। खरले छाएको मन्दिरमा अहिले करोडौँका काम भएको मुसिकोट नगरपालिका-६ का वडाध्यक्ष खडगबहादुर खड्काले बताउनुभयो। खडकाले डिपिआर गरेर मन्दिर, वाल, पार्किङ, वृक्षारोपणलगायतका काम भएको बताउनुभयो।

मालिकानजिकै जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे पनि छ। कुर्घा मालिकासँगै मुसिकोट दरबार, सालिमेलगायतका धार्मिक स्थल र कफीसँग जोडेर कृषि पर्यटनलाई अगाडि बढाउनुपर्नेमा खड्काले जोड दिनुभयो ।