• ४ जेठ २०८१, शुक्रबार

जनप्रतिनिधिका लोकप्रिय निर्णय

blog

लुम्बिनी, जेठ ८ गते । शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन ।

सेवा सुविधा नलिने घोषणा

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।बिजुवार समाचारदाताका अनुसार प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले अध्यक्षका हैसियतमा राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । शुक्रबार झिमरुकको पालिका सभाहलमा जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष एमसीले राज्यले दिने सेवा सुविधा शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।

अध्यक्ष एमसीले भन्नुभयो, “अध्यक्षले पाउने सुविधा म लिन्नँ, पालिकाको शिक्षा र सामाजिक क्षेत्रमा खर्चिन्छु ।” तत्कालीन बाँदीकोट गाउँ विकास समितिका पूर्वअध्यक्ष एमसी नेकपा (माओवादी केन्द्र) प्युठानका संयोजक हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाका टीका जीसीलाई पराजित गर्दै एमसी पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बीमा र विद्युत् महसुलमा छुट 

तम्घास समाचारदाताका अनुुसार गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । अध्यक्ष युवराज केसीले पदभार ग्रहण गर्दै गाउँपालिका विपन्न नागरिकको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत छुट दिने बताउनुभयो । यस्तै पालिका भित्रका स्वास्थ्य संस्थामा  प्रसूति समस्या भई अन्य अस्पताल लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । पालिकाका स्वास्थ्य संस्थालाई गुणस्तरीय बनाइ दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने गरी आफूले योजना बनाएको अध्यक्ष केसीले बताउनुभयो ।  

यस्तै रुरुक्षेत्र गाउँपालिकाले नागरिकको न्यूनतम विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ । पालिकाका विपन्न नागरिकलाई न्युनतम विद्युत् महसुल गाउँपालिकाले तिर्दा कम आय भएका नागरिकलाई राहत हुने अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । 

पाँच वर्षभित्र पालिकाका नागरिकको आयआर्जन वृद्धि गरी आत्मनिर्भर बनाउनु र निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्नु नै पहिलो प्राथमिकता रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार  थापाले आर्थिक अवस्था न्यून रहेका एक परिवारलाई १० हजार रुपियाँ प्रदान गर्दै पदभार ग्रहण गर्नुभएको छ । उहाँले गाउँपालिकालाई जतिसक्दो छिटो खरका छानामुक्त गाउँपालिका बनाउन लागि पर्ने बताउनुभयो । 


Author

लुम्बिनी ब्युरो