डडेल्धुरामा नेपाली काँग्रेस ४ र नेकपा माओवादी केन्द्र २ पालिकामा विजयी
डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हात पारेको छ । एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ ।
सिद्धिचरण नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी
शेरबहादुर राई ओखलढुंगा, जेठ ३ गते । ओखलढुगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली काँग्रेसका तेजन खनाल र उपप्रमुखमा केदारबाबु बस्नेत विजयी भएका हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा खनाल निर्वाचित हुनुभयो । खनालले ६ हजार ७ सय ९१ मत पाएका छन् । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याउनुभयो । उप प्रमुखमा एमालेका बस्नेतले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पार्नुभएको छ । बस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाउनुभयो ।नगरपालिकामा जन्तरखानी बाहेक सबै तहसम्मै काँग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये काँग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । काँग्रेसबाट वडानम्बर १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कट्वाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् । एमालेबाट वडानम्बर ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडानम्बर २ मा माओवादीका वसन्त कट्वालले जितेका छन् ।
सिञ्जा अध्यक्षमा माओवादीका धिताल र उपाध्यक्षमा रोकाया विजयी
जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकाया जिजयी हुनु भएको हो । अध्यक्ष धितालले एक हजार नौसय ४९ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष रोकायाले एक हजार नौसय ५६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी
अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बसन्ती पाल विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार पदम पाललाई पराजित गर्दै भट्ट विजयी हुनुभयो भने माओवादी केन्द्रका उम्मेदवार कलावती भाणलाई पछि पार्दै काँग्रेसकी पाल विजयी हुनुभएको हो । अध्यक्ष भट्ट दोस्रो कार्यकाल दोहरिनुभयो भने उपाध्यक्ष भाण भने यस पटक दोहरिन सक्नुभएन ।
फेरि थुप्रियो फोहोर
काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ ।हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो ।
पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लीन स्वीप’
केशवचन्द्र महरा दिपायल, जेठ २ गते । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले एकलौटी विजय हासिल गरेको छ ।सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ ।गाउँपालिकाको अध्यक्षमा राम प्रसाद उपाध्याय , उपाध्यक्षमा पशुपती खड्का विजयी हुनु भएको हो । उपाध्याय ५ हजार १३३ मतसहित विजयी हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण कुमार खड्काले २ हजार २०५ मत प्राप्त गर्नु भयो ।
म्याग्दे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी
अमरराज नहर्कीतनहुँ, जेठ २ गते । तनहुँको म्याग्दे गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेको उम्मेदवार र उपाध्यक्षमा नेपाली काँग्रेसको उम्मेदवार विजयी हुनु भएको छ । एमालेका श्रीप्रसाद श्रेष्ठले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतले पछि पार्दै श्रेष्ठले विजयी हुनुभयो । कुल मत सङ्ख्या ११ हजार ८८३ मध्ये श्रेष्ठले ४ हजार ९ सय ५० मत पाउनुभयो भने रानाले ४ हजार २३२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरेले नेकपा एमालेका उम्मेदवार रत्ना घिमिरेलाई ८ सय ३९ मत अन्तरले पराजित गर्नुभयो । काँग्रेसका घिमिरेले ५ हजार ३९ मत प्राप्त गर्नु भएको थियो भने एमालेकी घिमिरेले ४ हजार २ सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नवराज आचार्यले बताउनुभयो । घिमिरे दोस्रो कार्यकालको लागि उपाध्यक्षमा दोहोरिनुभएको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठ एमाले तनहुँको अध्यक्ष हुनुहुन्छ । काँग्रेसको गढको रूपमा मानिएको म्याग्दे गाउँपालिका नेकपा एमालेले कसरी तोड्न सक्यो त्यो अहिले कांग्रेस बृत्तमा चासोको बिषय बनेको छ । २०७४ सालको स्थानीय चुनावमा श्रेष्ठले रानासँग नै १ हजारभन्दा बढी मतले पराजित हुनुभएको थियो ।सात वटा वडा रहेको सो गाउँपालिकामा वडाध्यक्षहरूमा कांग्रेसले बढी जितेको छ । वडामा पनि कांग्रेसले धेरै जित हासिल गर्नु र उपाध्यक्षमा पनि कांग्रेसले जितेपनि अध्यक्ष पराजित भएकाले सबैलाई कतुहलता भएको छ । स्थानीय तह मतपरिणाम सबैभन्दा पहिला नतिजा दिने गाउँपालिकामा म्याग्दे परेको छ । मतगणना छिटो र छरितो रुपमा लागेकाले अन्यभन्दा पहिला परिणाम दिन सकिएको सहायक मतदान अधिकृत एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
चट्याङ लागेर एक युवकको घटनास्थलनमा मृत्यु
विष्णुप्रसाद पोखरेलदमक, जेठ २ गते । झापाको हल्दिबारीमा आइतबार राति हावापानीसँगै परेको चट्याङ लागेर एक युवकको घटनास्थलनमा नै ज्यान गएको छ । हल्दिबारी गाउँपालिका वडा नं. २ मा २६ वर्र्षीय भेना हस्दाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।साढे १ बजेतिर शौचालय गर्न कोठाबाट बाहिर निस्कँदा सोही बेला परेको चट्याङले लागेर हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।
सल्यानमा बसमा करेन्ट लागेर २ जनाको मृत्यु
प्रतीक शर्मासल्यान, जेठ २ गते । बसमा करेन्ट लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी हुन् । रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकांश १३ देखि १७ वर्ष उमेर समूहका बालबालिका रहेको प्रहरीले जनाएको छ ।