• १६ चैत २०८०, शुक्रबार

डडेल्धुरामा नेपाली काँग्रेस ४ र नेकपा माओवादी केन्द्र २ पालिकामा विजयी

blog

हिक्मतबहादुर  सिंह

डडेल्धुरा,  जेठ ३ गते । डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हात पारेको छ । एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ । 

अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी हुनु भएको हो । काँग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित हुनु भएको हो । प्रमुखमा निर्वाचित जोशीले ३ हजार ६ सय १९ मत ल्याउदु भएको हो । उहाँका प्रतिद्वन्दी भट्टले ३ हजार ४ सय २६ मत प्राप्त गर्नुभएको थियो ।  झुकालले ३ हजार ६७८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी यज्ञराज अवस्थीले ३ हजार ८५ मत प्राप्त गर्नुभयो ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेश प्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित हुनु भएको हो । नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै नेकपा माओवादी केन्द्रका भट्ट र नेकपा माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै काँग्रेसकी पाल विजयी हुनु भएको हो । अध्यक्षमा निर्वाचित भट्टले २ हजार ४ सय ६९ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पदम पालले २ हजार २ सय ९७ पालले मत पाउनु भयो । यस्तै, नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १ हजार ९ सय ८१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी पालले २ हजार ५ सय ६५ मत ल्याउनुभयो भने उहाँकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी भाणले २ हजार ३ सय ९ मत पाउनुभयो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी हुनु भएको थियो । 

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार कबिन्द्र बिष्टलाई हराउँदै अध्यक्षमा लक्ष्मी प्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट (बोगटी) विजयी हुनु भएको हो । नेकपा एकीकृत समाजवादीका बिष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकी चन्द्रा रूपालीलाई हराउँदै बिष्ट विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित अवस्थीले २ हजार ८ सय ७९ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्दी बिष्टले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी बिष्टले ३ हजार २ सय ८ मत ल्याएर विजयी हुनुभयो । उहाँकी प्रतिद्वन्दी चन्द्रा रूपालीले २ हजार ३ सय ६७ मत पाउनुभयो ।

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित हुनु भएको छ । कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी) लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी हुनु भएको हो । अध्यक्षमा निर्वाचित पार्कीले २ हजार ३ सय ८९ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी गुरुङले २ हजार २ सय २४ मत पाउनुभयो । पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर पराजित गर्नुभएको छ । उपाध्यक्षमा विजयी रावलले २ हजार ६ सय २ मत प्राप्त गर्नुभयो । कांग्रेसकी बोगटीले २ हजार २ सय ४१ मत ल्याउनु भएको थियो । यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो ।

गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित हुनु भएको छ । काँग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३ हजार १ सय ८४मत प्राप्त गरी विजयी हुनुभयो । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३ हजार १३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । अध्यक्षका अर्का उम्मेदवार काँग्रेस बिपीका सुरेन्द्र बहादुर मालीले १ हजार ६ सय ५ मत मात्रै प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा एमालेका इन्द्र महराले १ हजार ७सय ३ मत मात्रै प्राप्त गर्नुभयो ।

डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका हेमराज चटौत २ हजार ३ सय ११ मत सहित पालिका अध्यक्षमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याउनु भयो ।

यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो । उहाँकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी गीता भट्टले ८ सय ३२ मत प्राप्त गर्नुभएको थियो । 

परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । जिल्लाको भित्री मदेशमा रहेको सो नगरपालिकाका १२ वडाहरुमध्ये ९ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काग्रेसले ४ वडा र नेकपा माओवादी केन्द्रले ५ वडामा जित हात पारेको छ । नगरप्रमुखमा कडा प्रतिस्पर्धा रहेको छ भने उप प्रमुखमा सुरुवाती देखी नै नेकपा माओवादीले अग्रता लिएको छ ।