नवीनराज कुइँकेल
लमजुङ, चैत २ गते । लमजुङमा खाना पकाउने एलपी ग्यास लगायत अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना हुन नदिन सरोकारवालाबिच बैठक बसेर ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको संयोजकत्वमा बसेको संयुक्त बैठकले ग्यास वितरणमा ‘पहिला आउनेलाई पहिलो सेवा’ प्रणाली लागू गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बर अभिलेख राखेर एक परिवारलाई एकवटा मात्र सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।
बैठकले ग्यास डिपोहरूले आफूले खरिद गरेको र खुद्रा विक्रेतालाई उपलब्ध गराएको सिलिन्डरको विवरण सुरक्षित राखी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ । साथै ग्यास भित्रिने सूचना डिपो तथा विक्रेताले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित वडा कार्यालयलाई अग्रिम जानकारी गराउने व्यवस्था मिलाइने जनाएको छ ।
अग्रिम रूपमा नाम टिपिएका परिवारलाई क्रमअनुसार नियमित विक्रेतामार्फत ग्यास उपलब्ध गराइने र हालका लागि नयाँ सिलिन्डरको बिक्री–वितरण नगर्ने निर्णय पनि बैठकले गरेको छ । सुत्केरी तथा गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक रहेको परिवार तथा भाडामा बस्ने विद्यार्थीलाई स्थानीय वडा कार्यालयको सिफारिसका आधारमा पहिलो प्राथमिकतामा ग्यास उपलब्ध गराइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
ग्यास बिक्री–वितरणको क्रममा कालोबजारी, बढी मूल्यमा बिक्री तथा आवश्यकताभन्दा बढी सिलिन्डर संकलन गर्नेजस्ता गतिविधि रोक्न स्थानीय तहका वडा सदस्यलाई अनुगमनको जिम्मेवारी दिइएको छ । ग्यास बिक्री स्थलको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा मिलाउने निर्णय गरिएको प्रजिअ खनालले जानकारी दिनुभयो ।
बैठकमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतम, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, प्रमुख अनुसन्धान अधिकृत रामशंकर केसी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता अधिकारकर्मी तथा ग्यास विक्रेता लगायतको उपस्थिति थियो ।