विकास अधिकारी
पश्चिम नवलपरासी, चैत २ गते । लुम्बिनी प्रदेश सरकारमार्फत निर्माण थालिएको नवलपरासीका अलपत्र आयोजनाको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता अनुरूप पुल निर्माणको काम धमाधम भइरहेको छ ।
रामग्राम–१५, तुरिया खोलामा निर्माण थालिएको पुल समयमै निर्माण नसकिँदा विगत तीन वर्षदेखि अलपत्र थियो । पटक पटकको ताकेता पछि निर्माण कम्पनी ओम इन्फाटेक प्रा.ली ले पुल निर्माणको काम गरिरहेको छ । बालुवा जम्मा भएर पुलको सुरुमा गरिएको डिजाइन फेल भएपनि थप उचाइ बढाएर पुल निर्माण भइरहेको छ ।
आगामी वर्षायाम अगावै पुलको एउटा स्ल्याप ढलानको काम सम्पन्न हुने र बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय परासीका प्रमुख हितेन्द्र रायमाझीले जानकारी दिनुभयो ।
२०७७ सालमा निर्माण सुरु भएको उक्त पुल डेढ वर्षमा निर्माण सकिनुपर्ने भए पनि हाल सम्म पूरा भएको छैन् । सो पुल हुँदै रामग्रामको पोखरापालीदेखि ऐतिहासिक तथा पर्यटकीय स्थल पण्डितपुर सम्म जोड्ने फराकिलो सडक निर्माण भइरहेको छ ।
सोही सडक खण्डको बिचमा पर्ने पुल अलपत्र भएपछि आउजाउमा कठिनाइ हुनुका साथै सडक निर्माणमा सहयोग गरेको विश्व बैँकको टोलीले पनि चासो राख्दै आएको थियो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्थानीयको टोलीसहित प्रदेशमा पुगेर पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदै पुलको काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
त्यसपछि परासीमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालसहित, स्थानीय जनप्रतिनिधि र ठेकेदारबिच तत्काल काम सुरु गर्ने लिखित सम्झौता भएको थियो । सम्झौता अनुरूप पुलको काम अगाडि बढेपछि पुल नहुदाँ खोलाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय खुसी भएका छन् ।