विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २ गते ।निर्माण कार्य सम्पन्न भएर उद्घाटन भएको १० महिना बित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।
राजविराज नगरपालिका वडा नम्बर २ राजदेवीचौक स्थित नवनिर्मित बसपार्कको १० महिना अघि राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले उद्घाटन गर्नुभएको थियो ।
तर, बसपार्क सञ्चालनमा नआउनुले राजविराजमा जथाभावी सडकमै सार्वजनिक सवारी साधनपार्किङ्ग गर्ने र त्यहीँबाट आवत जावत गर्ने क्रम बढ्दै गएको हो ।बसपार्ककै अभावका कारण जताततै पाकिङ्ग र ट्राफिक व्यवस्थापनमा पनि समस्या भइरहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व अध्यक्ष वैद्यनाथ झा बताउनुहुन्छ ।
नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी मार्फत १५ करोड ६० लाख रुपैयाँको लागतमा राजविराज वडा नम्बर २ राजदेवी मन्दिर नजिकै १९ हजार छ सय भन्दा बढी वर्ग किलोमिटरमा फैलिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक ब्रान्च, प्रतीक्षालय, शौचालय, रेस्टुरेन्ट, मिनिमार्केट, सभाहल, प्रहरी बिट लगायतका सञ्रचना निर्माण गरिएको छ ।
बसपार्क सञ्चालनकै लागि नगरपालिकाले कार्यविधि बनाएर तीनपटक टेन्डर निकालेको तर, कसैले पनि टेन्डर नभर्दा अहिले सम्म बसपार्क सञ्चालनमा नआएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख परवीनले जानकारी दिनुभयो ।
उहाँले यातायात व्यवसायीको असहयोगले पनि यस्तो अवस्था आएको उल्लेख गर्नुहुँदै छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तर्फ काम गरिरहेको बताउनुभयो ।
२०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमानसिह, दोश्रो पटक २०४६ सालमा तत्कालीन अञ्चलाधिस सूर्य बहादुर सेन ओली र तेश्रो पटक २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले राजविराज बसपार्कको शिलान्यास गर्नुभएको थियो । तर, निर्माण काम अगाडि बढ्न सकेको थिएनन् ।
चौथो पटक २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगर प्रमुख शम्भु प्रसाद यादवले संयुक्त रुपमा बसर्पाकको शिलान्यास गरेपछि निर्माण कार्य शुरु भएको थियो ।