• १७ असार २०८१, सोमबार

तारेदहमा पुल निर्माण हुँदा स्थानीय हर्षित

blog

बाजुरा समाचारदाता

बाजुरा, असार १५ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडा र २ जयवागेश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय निकै हर्षित भएका छन् । 

गाउँपालिकाको आर्थिक तथा पिसविन बाजुराको प्राविधिक सहयोगमा खोलामा बनेको सो पुलमा आउजाउ गर्न सहज भएको छ । पहिला पुल नहुँदा बर्खाका समय खोला तर्न निकै समस्या हुन्थ्यो । अब खोलामा पुल बनेपछि भने आउजाउ गर्न निकै सहज भएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय कविता बुुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड छेडेदह–२, जयवागेश्वरीका अधिकांश विद्यार्थी उच्च शिक्षा पढ्नका लागि वडा नम्बर १ को काँडा भवानीमा जाने गर्दछन् । बर्खाको समय खोलामा पानीको बहाव बढ्ने भएकाले उनीहरूलाई खोला तर्न निकै समस्या हुन्थ्यो । ”

यतिबेला त्यो खोलामा पुल निर्माण भएपछि यहाँका बालबालिकालाई बर्खाको समयमा पनि विद्यालय जान निकै सहज भएको बुढाले बताउनुभयो । खप्तड छेडेदह गाउँपालिका–१,  सिग्रा, सेरागाउँ, मेलतोला, थुवालवाडा, काँडा र २ को माटेसाँगु, गाँज्रा, बल्दे र जयवागेश्वरीलगायतका स्थानीयवासी वारिपारि गर्दा खोला तरेर जाने गर्थे । बर्खाको समय पानीको मात्रा नै बढ्ने गरेकाले त्यतिबेला यहाँका स्थानीयलाई खोला तर्न ज्यान जोखिम पर्ने गरेको थियो । यो खोलामा झन्डै ६४ मिटर लम्बाइ पुल निर्माण भएपछि अब भने यहाँका स्थानीयवासीको समस्या हटेको छ । गाउँपालिकाको ४५ लाख २८ हजार ९६२ रुपियाँ र पिसविन बाजुराको प्राविधिक सहयोगमा तारेदह खोलामा ६४ मिटर लम्बाइ पुल निर्माण भएको पिसविन नेपालका टेक्निकल अफिसर खडकराज जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ माघ २५ गते निर्माणको काम सुरु भएर २०८१ असार १२ गते सम्पन्न भएको छ ।”

यो वर्षमा बाजुराको बुढीगङ्गामा दुई, खप्तड  छेडेदहमा दुई, स्वामिकार्तिकमा एक, बडिमालिकामा दुई र त्रिवेणीमा दुई गरी नौ वटा पुल निर्माणको काम सम्पन्न भएको जैशीले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिका–१, काँडा र २ जयवागेश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुलको निकै आवश्यक रहेकाले २०७९/८० को आर्थिक वर्षमा ४५ लाख २८ हजार ९६२ रुपियाँ रकम विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष विसु नाथले बताउनुभयो । बाजुराका नौ वटै स्थानीय तहमा हालसम्म झन्डै १३५ वटा झोलुङ्गेपुल रहेका छन् । यो आवमा १६ पुल निर्माणाधीन छन् । यी सबै पुलमा प्राविधिक र सामाजिक सहयोग पिसविन नेपालको रहेको जैशीले बताउनुभयो ।