• ७ वैशाख २०८१, शुक्रबार

फेरि थुप्रियो फोहोर

blog

काठमाडौँ, जेठ ३ गते । काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ ।हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो ।

पासाङल्हामु राजमार्गको मुड्खुभञ्ज्याङदेखि तिनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन सय सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकाबाट सङ्कलन गरिएको फोहोर सिसडोल ढुवानी गर्न सुरु गरिएको थियो । काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले सिसडोलस्थित डम्पिङ साइटको व्यवस्थापन गर्नु परेका कारण केही दिनदेखि फोहोर व्यवस्थापनको काम रोकिएको बताउनुभयो । प्रमुख राईले सोमबारदेखि नै फोहोर ढुवानी सुरु गरिने तयारी भइरहे पनि वर्षाले बाटो हिलाम्मे हुँदा ढुवानी सुरु हुन नसकेको बताउनुुभयो ।

काठमाडौँको टेकुमा फोहोर थुप्रिएर त्यो क्षेत्रको वातावरण नै दुर्गन्धित भएको भन्दै सो क्षेत्रका बासिन्दाले सोमबारदेखि फोहोर व्यवस्थापनमा अवरोध गरेको विभाग प्रमुख राईले जानकारी दिनुभयो । महानगरले घरघरबाट फोहोर सङ्कलन गरेर टेकु ल्यान्डफिल्ड साइटमा जम्मा गर्दै त्यहाँबाट गाडीमा सिसडोल लैजाने गरेको थियो । हाल टेकुबाट फोहोर ढुवानी हुन नसक्दा त्यहाँ थुप्रिएर सो क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ । एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको छ ।