अचाक्ली बढ्यो केराको भाउ
पछिल्लो समयमा उपत्यकाका बजारमा केराको मूल्य गत वर्षभन्दा झन्डै दोब्बरले बढेको छ । गत वर्ष यो बेलामा प्रतिदर्जन औसत १२० देखि १५० रुपियाँ थोकमा पाइने केराको मूल्य अहिले बढेर प्रतिदर्जन तीन सयदेखि ३५० रुपियाँ पुगेको नेपाल फलफूल व्यवसायी सङ्घले जनाएको छ । खुद्रा बजारमा केराको मूल्य अझै उच्च छ । खुद्रा बजारमा केराको मूल्य प्रतिदर्जन तीन सय रुपियाँदेखि ३५० रुपियाँसम्म बिक्री भइरहेको छ । आमनेपाली उपभोक्ताले उपभोग गर्न सक्ने मूल्यमा पाइने केरा यस पटक सर्वसाधारण उपभोक्ताको हैसियतले नभ्याउने गरी मूल्यवृद्धि भएको छ ।
सदस्यता नवीकरणको म्याद थप
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सदस्यता नवीकरणको समयावधि दुई महिना थप गरेको छ । एमालेले फागुन–चैतमा सदस्यता नवीकरण गरिसक्ने व्यवस्था गरेकामा आमनिर्वाचनका कारणले जेठ मसान्तसम्म समय थप गरेको जनाएको छ ।
कांग्रेसको अबको बाटो साङ्गठनिक र वैचारिक एकता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि उत्पन्न द्विपक्षीय विवाद निरूपण भएपछि १५ औँ महाधिवेशनका सन्दर्भमा बहस आरम्भ भएको छ । सर्वोच्च अदालतले शुक्रबार दिएको आदेशमा विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिले आधिकारिकता प्राप्त गरेपछि कांग्रेसका सम्पूर्ण पार्टीपङ्क्ति १५ औँ महाधिवेशनउन्मुख भएको हो ।
गैरपर्यटकीय भिसा सिफारिस अब सहज
नेपालस्थित विभिन्न वायुसेवा कम्पनीमा विदेशी जनशक्तिलाई काममा लगाउने क्रममा गैरपर्यटकीय भिसा सिफारिस अब मन्त्रालयबाटै गर्न सकिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसअघि नेपालस्थित विभिन्न वायुसेवा कम्पनीमा विदेशी जनशक्तिलाई काममा लगाउन गैरपर्यटकीय भिसा सिफारिसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस पठाइने व्यवस्था रहेकोमा अब भिसा सिफारिस मन्त्रालयमै गर्न सकिने भएको हो ।
कानुन निर्माण ढिलो हुने छैन : सभामुख
सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माणमा एक मिनेट पनि ढिलो गर्न नहुने बताउनुभएको छ । लायन्स क्लब इन्टरनेसनलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुखले नयाँ कानुनको निर्माण र संशोधन गर्न एक इन्च पनि सम्झौता नगरिने प्रस्ट पार्नुभएको हो ।
कार्यान्वयनले लिन थाल्यो गति
सरकारले शासकीय सुधारको २० दिनको यात्रामा आफ्ना एक सय प्रतिबद्धताका अधिकांश बुँदामा तीव्रतासाथ पाइला अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन चैत १३ गतेको मन्त्रीपरिषद्को पहिलो बैठकले पारित गरेको एक सय कार्यसूचीलाई मूर्तरूप दिन सरकारले गति बढाएको हो । सरकारले आफ्नै काम कसरी भइरहेको छ भनेर आन्तरिक कार्यदक्षता सञ्जाल बनाएको छ । हरेक दिन उक्त सूची पल्टाउने र परिमार्जनसहित परिणाम दिने व्यवस्था गरेको छ ।
करोडौँका ‘होल्डिङ सेन्टर’ अलपत्र
कोभिड–१९ महामारी नियन्त्रणका लागि विभिन्न जिल्लामा निर्माण गरिएका होल्डिङ सेन्टर प्रयोगविहीन छन् । करोडौँ रुपियाँ लगानीमा निर्माण गरिएका यी संरचना सञ्चालन र व्यवस्थापनको स्पष्ट योजना नहुँदा अलपत्र बनेका हुन् ।
प्रधानमन्त्री, मन्त्री ९ बजे नै कार्यकक्षमा
पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री र मन्त्री बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सकारात्मक सन्देशसमेत दिएको छ । प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय उपस्थित हुनु र जिम्मेवारीपूर्वक काम गर्नुलाई सुशासनको पहिलो सर्तका रूपमा लिइएको छ । प्रधानमन्त्री र मन्त्री नै समयमै कार्यालय आउने र पूरा समय बस्ने भएपछि कर्मचारी स्वतः समयमै कार्यालय पुग्ने गरेको पाइएको छ ।
चट्याङ लागेर किसानको मृत्यु
बारामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
कोहलपुर माइल दौड सञ्चालन हुने
वन ग्लोबल माइलअन्तर्गत असार २७ गते (जुलाइ ११) मा नेपालमा कोहलपुर माइल सञ्चालन हुने भएको छ । हरेक वर्ष जुलाइ ११ मा हुने वन ग्लोबल माइल विश्वभर रनिङ संस्कृति प्रवद्र्धन गर्ने महाअभियान हो ।
जष्ट जोन नाइजेरिया फाइनल प्रवेश
जष्ट जोन एफसी नाइजेरिया बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा बिदेशी टोली नाइजेरियाले फोर ब्रदर्श एफसी नवलपरासीलाई १ काविरुद्ध २ गोलको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
ताप्लेजुङलाई बर्डफ्लु मुक्त बनाउने अभियान
ताप्लेजुङलाई बर्ड फ्लु मुक्त बनाउने अभियान सुरु गरिएको छ। अभियानको पहिलो दिन शनिबार जिल्लामा सञ्चालित पंक्षीजन्य मासु पसलबाट नमुना परीक्षण गरिएको छ।
मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो
हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो ।
नेपाली साहित्य भक्ति, शक्ति र मुक्ति
नेपाली साहित्यको इतिहासमा विभिन्न समयमा भएका आन्दोलनले समाजको ऐनाका रूपमा काम गरेका छन् । यी आन्दोलन केवल शैली परिवर्तनका लागि मात्र नभई तत्कालीन राजनीतिक निरङ्कुशता र सामाजिक जडताविरुद्धका वैचारिक विद्रोह पनि थिए । जसले नेपाली साहित्यमा धेरै मोड नै ल्याएका छन् । सुक्तिसिन्धु काण्ड १९७४ को सूत्रधार मोतीराम भट्ट र पद्मविलास पन्त हुनुहुन्थ्यो ।
माग घटेपछि बुलेटमै थन्कियो ग्यास
आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् । आधा तौल (७.१ केजी) को सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा १५ दिनको अवधिमा बजारमा १८ हजार मेट्रिक टन मात्र ग्यास आयात भएको छ । बजारमा ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज पार्न निगमले २८ फागुनदेखि आधा तौलको सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।
भाइकाजीविरुद्ध दोस्रो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
संसदीय दलको नेता चयन गर्न छलफल
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिबार पार्टीका शीर्ष नेताबिच छलफल हुने भएको छ । कांग्रेस सहमहामन्त्री एवं संसदीय दलको नेताको निर्वाचन समिति संयोजक प्रकाश स्नेही रसाइलीका अनुसार शक्रबार सहमति जुटाउने प्रयास निष्कर्षमा नपुगेपछि शीर्ष नेतासँग छलफल तय भएको हो ।
सङ्घीय संसद् : सबै समितिमा नयाँ नेतृत्व
निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ भएको दुई सातामै विषयगत समिति गठन र नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । विगतमा लामो समयसम्म नियमावली तर्जुमा नहुँदा समिति गठन र नेतृत्व चयनमा ढिलाइ हुने गरेकोमा यो पटक नियमावली मसौदाको काम जारी रहेकै अवस्थामा समिति गठन भएका थिए । नियमावलीमा समिति सङ्ख्या हेरफेर नगर्ने राजनीतिक सहमतिमा समिति गठन र नेतृत्व चयन सम्पन्न भएको हो ।
कीर्तिमान रच्ने तर्खरमा आरोही
सगरमाथाको ३१ औँ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका प्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्ने तयारीमा लाग्नुभएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि काठमाडौँबाट लुक्ला, फाक्दिङ, नाम्चे हुँदै सगरमाथा आधार शिविरतर्फको यात्रामा रहनुभएका ५६ वर्षीय शेर्पा ३२ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउने तयारीमा लाग्नुभएको हो । उहाँले भन्नुभयो, “फोर्टिन पिक एक्सपिडिसन कम्पनीबाट सगरमाथा आरोहण गर्ने तयारी अनुसार नौ जना विदेशी आरोहीसहित सगरमाथा क्षेत्रमा प्रवेश गरेको छु । कीर्तिमानका लागि नभएर आरोहणको पेसालाई निरन्तरता दिँदै विदेशी आरोहीको पथप्रदर्शकका रूपमा आरोहणमा सहभागी हुन लागेको हुँ ।”
जलवायु परिवर्तन विश्वकै गम्भीर चुनौती
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरिका सांसद एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक सङ्कट, असमानता र युवा बेरोजगारी जस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्नुभयो ।
नारायणगढ–बुटवल सडकखण्ड : चौँतिस पुल र कल्भर्ट निर्माण
विस्ताराधीन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नागरायणगढ–दाउन्ने) मा पुल र कल्भर्ट निर्माण सम्पन्न भएको छ । यस भागमा साना र ठुला गरी कुल ३४ वटा पुल निर्माण भएको हो । यसमध्ये साना २२ र ठुला १२ वटा पुल निर्माण भएका हुन् । त्यसै गरी यस भागमा सबै कल्भर्टसमेत निर्माण सम्पन्न भइसकेको छ । सडक विभाग एडिबी निर्देशनालय प्रमुख ई. चूडाराज ढकालले विस्तारक्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नारायणगढ–दाउन्ने) मा निर्माण गर्नुपर्ने पुलको काम सम्पन्न भएको जानकारी दिनुभयो । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।
गगन नेतृत्वलाई वैधानिकता
नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै वैधता प्रदान गरेको छ । विशेष महाविधेशनको निर्णय राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानविपरीत रहेको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको रिट निवेदन सर्वाेच्चले खारेज गरेको छ । मुलुककै पुरानोमध्येको एक पार्टीको चार महिना लामो आन्तरिक किचलो सर्वोच्चको आदेशसँगै टुङ्गो लागेको छ ।
निजामती विधेयक तर्जुमा चाँडै : मन्त्री रावल
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सङ्घीय निजामती सेवा विधेयकको मसौदा बाहिर चर्चा भए जस्तो तोडमोड नभएको बताउनुभएको छ । विधेयकको मसौदाका विषयवस्तुका बारेमा विभिन्न सञ्चार माध्यममा विभिन्न चर्चा भएको भन्दै उहाँले बाहिर चर्चा भए जस्तो परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
जोखिम मोलेर बचाउने सङ्कल्प
बाढी, पहिरो, दुर्घटना, आगलागी वा डुबान जस्ता प्राकृतिक तथा दैवीप्रकोपमा परी जोखिममा परेका व्यक्तिलाई बचाउन होमिने उद्धारक सधैँ सकुशल नफर्किन पनि सक्छन् । हरदम आइपर्न सक्ने जोखिम, चुनौतीपूर्ण तथा ज्यानको पर्वाह नगरी निरन्तर कर्तव्यपथमा लाग्न राष्ट्रभक्ति र देशप्रतिको समर्पण नभई सम्भव हुँदैन, यही समर्पणलाई आफ्नो वृत्ति (करिअर) बनाउने देशभक्तको पनि यहाँ कमी छैन ।