गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ५ गते । सगरमाथाको ३१ औँ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका प्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्ने तयारीमा लाग्नुभएको छ ।
वसन्तयामको सगरमाथा आरोहणका लागि काठमाडौँबाट लुक्ला, फाक्दिङ, नाम्चे हुँदै सगरमाथा आधार शिविरतर्फको यात्रामा रहनुभएका ५६ वर्षीय शेर्पा ३२ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउने तयारीमा लाग्नुभएको हो । उहाँले भन्नुभयो, “फोर्टिन पिक एक्सपिडिसन कम्पनीबाट सगरमाथा आरोहण गर्ने तयारी अनुसार नौ जना विदेशी आरोहीसहित सगरमाथा क्षेत्रमा प्रवेश गरेको छु । कीर्तिमानका लागि नभएर आरोहणको पेसालाई निरन्तरता दिँदै विदेशी आरोहीको पथप्रदर्शकका रूपमा आरोहणमा सहभागी हुन लागेको हुँ ।”
पदयात्राका क्रममा विदेशी आरोहण दललाई शेर्पा संस्कृति र पर्वतीय क्षेत्रका मनमोहक दृश्यावलोकन गराउँदै कदम कदम गर्दै ठुलो सपनानजिक हुँदै गएको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष जेठ १३ गते सगरमाथाको चुचुरोमा पाइला टेकेर ३१ औँ पटक सगरमाथा आरोहणमार्फत इतिहास रच्नुभएका उहाँले विसं २०८१ को एकै याममा दुई पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नुभएको थियो ।
सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा पथप्रदर्शक तथा पर्वतारोही हुनुहुन्छ । सन् १९९४ मे १३ मा भरियाका रूपमा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
‘एभरेस्ट म्यान’ का नामले प्रख्यात उहाँले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनासलु, ल्होत्से र केटु एक एक पटक आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । कामीरितापछि सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पासाङ दावा शेर्पाले पाइला टेक्नुभएको छ । सगरमाथामा इतिहास रच्ने प्रतिस्पर्धामा रहेका उहाँले २९ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।
यसअघि २१/२१ पटक सगरमाथाको चुचुरो चुमेका आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले भने आरोहणबाट सन्न्यास लिइसक्नुभएको छ । त्यस्तै दुई हप्ताभित्र तीन पटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ पनि छैटौँ पटक सगरमाथा आरोहणको योजना अनुसार आधार शिविर पुगेर आरोहणको तयारीमा लाग्नुभएको छ ।