वासुदेव शर्मा
जाजरकोट, वैशाख ५ गते । जाजरकोटका युवाहरूले आगलागीमा गम्भीर घाइते भएका तीन जनाको उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छन्। गत आइतबार बिहान ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा गम्भीर घाइते माया जैसी, रुपा जैसी र गणेश गौतमको उपचारका लागि स्थानीय युवाहरूले नौ लाख ५० हजार रुपियाँ संकलन गरेका हुन्।
ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएपछि थालुप्रसाद जैसीकी ४२ वर्षीया श्रीमती माया जैसी, ३७ वर्षीया साली रुपा जैसी र २२ वर्षीय छोरा गणेश गौतम गम्भीर घाइते भएका थिए। उनीहरूको नगर अस्पताल, दल्लीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
नलगाड नगरपालिका–२ का राजन गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा करिब ४ लाख ५ हजार रुपैयाँ खर्च गरी घाइतेलाई नेपालगञ्जसम्म पुर्याइएको थियो। त्यसपछि परिवारले जहाजमार्फत काठमाडौँ ल्याएको थियो।
उहाँका अनुसार हेलिकोप्टर चार्टरमा ठूलो रकम खर्च भएपछि औषधि उपचारका लागि थप खर्च जुटाउन समस्या परेको थियो। कृषि पेशा र ज्यालामजदुरी गर्दै आएको परिवार उपचार खर्च जुटाउन असमर्थ भएपछि सहयोग अभियान सुरु गरिएको हो।
नलगाड नगरपालिका–४ का समाजसेवी छवि पन्तले ग्यास सिलिन्डर आगलागीमा घाइते भएका बिरामीको जीवनरक्षाका लागि सुरु गरिएको अभियानमार्फत संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो।
त्यस्तै, नलगाड नगरपालिका–२ का देवीलाल वली, लवकुश वली र राजन गौतमको टोलीले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको हो। हाल तीनै जना घाइतेको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।