राजन रावत
हुम्ला, वैशाख ५ गते । जिल्ला प्रशासन कार्यालय हुम्लाले यस वर्ष सार्वजनिक बिदाका दिनमा पनि तीन प्रकारका सेवा प्रदान गर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म पर्ने सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्न लागिएको हो।
यस अनुसार सार्वजनिक बिदाका दिनमा नेपाली नागरिकता सम्बन्धी सेवा, राहदानी सेवा र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिने निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो। सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उहाँको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रदान गर्ने दिनहरूमा वैशाख १८ गते उभौली पूर्णिमा, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन, भदौ १९ गते कृष्ण जन्माष्टमी, असोज २५ गते घटस्थापना, पुस ९ गते धान्य पूर्णिमा र पुस १० गते क्रिसमस डे रहेका छन्।
त्यसैगरी पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व, माघ २४ गते सोनाम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस र फागुन २५ गते ग्याल्बो ल्होसारका दिन पनि सेवा प्रवाह गरिनेछ। साथै, ईद उल फित्र र बकर ईदका दिन पनि सेवा उपलब्ध गराइनेछ।
उक्त व्यवस्था सम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरिसकेको छ। सोहीअनुसार सेवा लिन सेवाग्राहीलाई आग्रह गरिएको छ।