• ६ वैशाख २०८३, आइतबार

गैरपर्यटकीय भिसा सिफारिस अब सहज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ६ गते । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीमा विदेशी जनशक्तिलाई काममा लगाउने क्रममा गैरपर्यटकीय भिसा सिफारिस अब मन्त्रालयबाटै गर्न सकिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसअघि नेपालस्थित विभिन्न वायुसेवा कम्पनीमा विदेशी जनशक्तिलाई काममा लगाउन गैरपर्यटकीय भिसा सिफारिसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस पठाइने व्यवस्था रहेकोमा अब भिसा सिफारिस मन्त्रालयमै गर्न सकिने भएको हो ।

हवाईसेवा व्यवस्थापन नियमावली, २०८२ कार्यान्वयनमा आएसँगै विदेशी कर्मचारीको भिसा प्रक्रियामा नयाँ व्यवस्था लागु गरिएकाले हवाईसेवा व्यवस्थापन नियमावली अनुसार आफैँ प्राधिकरणसँग आवश्यक सिफारिस माग गरी भिसा प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसअघि वायुसेवा कम्पनीले विदेशी पाइलट, इन्जिनियरलगायत प्राविधिक जनशक्तिका लागि गैरपर्यटकीय भिसा सिफारिस गराउनुपर्दा कानुनी प्रक्रिया पूरा गरी प्राधिकरणमार्फत मन्त्रालयमा निवेदन पठाउने गरेको थियो ।

यस व्यवस्थाले भिसा सिफारिसको प्रशासनिक प्रक्रियालाई थप छिटोछरितो बनाउने अपेक्षा गरिएको छ । सरकारले नेपालमा काम गर्ने विदेशी कामदारलाई छ वर्षसम्मको श्रम स्वीकृति दिने गरेको छ । त्यस्तै श्रम ऐन अनुसार नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान रहेको छ । विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिकामा नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति मात्र रोजगारीका लागि नेपाल ल्याउनुपर्ने व्यवस्था छ ।