• ६ वैशाख २०८३, आइतबार

नैतिकताको मृगतृष्णा

blog

राज्यले विद्यालय तहको पाठ्यक्रममा ‘नैतिक शिक्षा’ पुनः समावेश गर्ने निर्णय गरेको छ । यो ‘असल कुरा’ सुन्दा जति मनमोहक र आशावादी लाग्छ, यसको कार्यान्वयनको धरातल र विगतको अनुभव हेर्दा त्यति नै संशयपूर्ण छ । केवल एउटा पाठ्यपुस्तकको भारी थपेर वा वार्षिक परीक्षामा केही सैद्धान्तिक प्रश्नको उत्तर लेख्न लगाएर विद्यार्थीलाई ‘नैतिकवान्’ बनाउन सकिन्छ भन्ने सोच आफैँमा एकाङ्की र सतही छ ।

विगतको एउटा तितो यथार्थ पोखौँ । कक्षा ९ को वार्षिक परीक्षामा “बालविवाह सामाजिक अपराध हो र यसले शारीरिक विकास एवं पारिवारिक जिम्मेवारी वहनमा अवरोध पु¥याउँछ” भनी उत्कृष्ट उत्तर लेखेर विशिष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी कक्षा १० मा पुगेपछि सहपाठी लिएर घरबाट भागेको थियो । यसले के पुष्टि गर्छ भने हाम्रो शिक्षा प्रणालीले विद्यार्थीको मस्तिष्कसम्म सूचना त पु¥यायो तर उसको ‘विवेक’ र ‘आचरण’ सम्म शिक्षाको उज्यालो पुग्न सकेन । यो शिक्षा “काउलीको पात हरियो हुन्छ” भनेर घोके जस्तै नितान्त यान्त्रिक र प्राणहीन साबित भएको छ, जसले व्यक्तिको भित्री चरित्र निर्माणमा कुनै तात्त्विक प्रभाव पार्न सकेको छैन र खासै पार्दैन पनि ।

सामाजिक यथार्थ के हो भने जसले नीति र नैतिकताका ठुला ग्रन्थ घोकेका छन्, उनीहरू नै समाजको मूल्य र मान्यतालाई लत्याउँदै सबैभन्दा बढी भ्रष्ट आचरणमा लिप्त देखिन्छन् । देश र जनतालाई लुटेर अरबपति बन्ने नेता,  व्यापारी, गैरजिम्मेवार कर्मचारी, भ्रष्ट प्रहरी वा पदको दुरुपयोग गर्ने अधिकारी– यी कोही पनि अनपढ वा विश्वविद्यालय नटेकेका मानिस होइनन् । यी सबैले कुनै समय विद्यालयमा पढ्दा नैतिक शिक्षाका पाठ कण्ठ गरेका थिए र परीक्षाका पानामा नैतिकताको ठुलो वकालत गरेरै यहाँसम्म आइपुगेका हुन् । उनीहरूको जीवनमा ‘किताबी माछा’ र ‘खोलाको माछा’ बिचको अन्तर प्रस्ट देखिन्छ । जब बुद्धिजीवी भनिने वर्गबाटै सबैभन्दा बढी अबौद्धिक र स्वार्थी खेल खेलिन्छन्, तब समाजको नैतिक जग नै धर्मराउन पुग्छ । समाजका कथित साधु स्वादका पुजारी बन्नु, जोगी भोगविलासको दलदलमा फस्नु र चरित्रका कुरा गर्नेहरू नै पर्दापछाडि चरित्रहीन हुनुले के देखाउँछ भने हाम्रो समाजमा ‘भन्ने’ र ‘गर्ने’ बिचको खाडल निकै गहिरो र भयावह भइसकेको छ ।

​यस्तो प्रदूषित र दोहोरो मापदण्ड भएको सामाजिक परिवेशमा हुर्किएको विद्यार्थीले किताबका निर्जीव पाठभन्दा समाजको ‘पावर’ र ‘पैसा’ बाट बढी सिकिरहेको हुन्छ । समाजमा आज ‘नैतिकवान्’ व्यक्ति सबैभन्दा बढी उपेक्षित, उत्पीडित र तिरस्कृत बन्ने अवस्था छ । जब धनको अहङ्कारले बजारमा चर्को स्वरमा गर्जन थाल्छ, तब सत्य र नैतिकताले मौन रहनु नै आफ्नो अस्तित्व रक्षाको उपाय ठान्छन् । यो त धृतराष्ट्रहरूको भिडले भरिएको त्यो अन्धो समाज जस्तो भएको छ, जहाँ नैतिकता रूपी द्रौपदीको चीरहरण भइरहँदा पनि विदुरहरू निरीह र मौन बनेर हेर्न विवश छन् । 

नैतिकताका ठुला कुरा गर्नेहरू नै समाजमा ‘अनैतिक दबदबा’ कायम गरेर बसेका छन् । यसले गर्दा नयाँ पुस्तामा असल मार्गमा हिँड्ने प्रेरणा नै मर्दै गए जस्तो लाग्छ । “किताबको माछा खानु हुँदैन, खोलाको माछा खानु हुन्छ” भन्ने चिन्तनले समाजको नेतृत्व गरिरहेको बेला विद्यालयको एउटा सानो कोठामा बसेर दिइने नैतिकताको प्रवचन बालुवामा खन्याएको पानी जस्तै व्यर्थ हुन सक्छ ।

सरकारले अब लागु गर्ने नैतिक शिक्षालाई परम्परागत ‘किताबी शिक्षा’ र ‘लिखित परीक्षा’ को सङ्कुचित घेराबाट पूर्णतः बाहिर निकाल्नु पर्छ । नैतिकता कुनै कण्ठ गरिने गणितीय सूत्र वा विज्ञानको नियम होइन, यो त जीवन जिउने कला, पद्धति र संस्कृतिको योग हो । यसलाई नितान्त प्रयोगात्मक र व्यावहारिक सिकाइका रूपमा विकास गरिनु पर्छ, जहाँ पाठ्यपुस्तकभन्दा बढी पात्र, परिवेश र व्यवहारले अर्थ राख्छन् । यसका लागि विद्यालयका प्रधानाध्यापकदेखि सहयोगी कर्मचारीसम्म र बसका चालकदेखि होस्टलका भान्सेसम्म सबैलाई ‘शिक्षक’ को भूमिकामा उभ्याउनु पर्छ । नैतिकताको पाठ केवल एउटा ४५ मिनेटको घण्टीमा सीमित हुनु हुँदैन । यो त विद्यालयको मूल गेटबाट पस्दादेखि घर फर्किंदासम्मका प्रत्येक पाइलामा झल्किनु पर्छ । शिक्षकले कक्षामा पढाउने नैतिकता र उसले विद्यालयको सामान्य स्तरको कर्मचारी वा विद्यार्थीसँग गर्ने व्यवहारमा एकरूपता छैन भने त्यो शिक्षाको कुनै मूल्य रहँदैन ।

नैतिकताको सन्दर्भमा विद्यार्थीको मूल्याङ्कन पद्धतिमा पनि आमूल परिवर्तनको खाँचो छ । एउटा विषय शिक्षकले कोठाभित्र लिने लिखित परीक्षाले विद्यार्थीको कति ज्ञान छ भन्ने मापन त गर्ला तर उसको ‘मानवता’ मापन गर्न सक्दैन ।  विद्यार्थीको नैतिकताको कसी उसका अभिभावक, भाइबहिनी, छिमेकी, विद्यालयका कर्मचारी, सवारीचालक र स्वयं उसका सहपाठी हुनु पर्छ । विद्यार्थीले आफ्ना सहकर्मीसँग कस्तो व्यवहार गर्छ, विपन्न र असहायप्रति उसको दृष्टिकोण कस्तो छ, सार्वजनिक सम्पत्तिको संरक्षणमा उसले कस्तो भूमिका खेल्छ र वातावरणप्रति ऊ कत्तिको जिम्मेवार छ– यी कुरा नै उसको ‘ग्रेड’ निर्धारण गर्ने आधार बन्नु पर्छ । जबसम्म एक विद्यार्थीले विद्यालयका सहयोगीलाई गर्ने सम्मान वा बाटोमा हिँड्दा देखाउने सभ्यतालाई उसको शैक्षिक योग्यताको प्रमुख मापदण्ड मानिँदैन, तबसम्म कागजका डिग्रीले केवल साक्षरता प्रतिशत मात्र बढाउने छन्, शिष्टता र नैतिकता होइन ।

अन्त्यमा नैतिकता ‘पढाउने’ विषय होइन, यो त ‘बाँच्ने’ आधार हो । हामीले हाम्रा बालबालिकालाई केवल शब्दको खेती गर्न र परीक्षामा अङ्क धेरै ल्याउन मात्र सिकायौँ भने उनीहरू भविष्यका चतुर, शिक्षित र सुकिला अपराधी त बन्लान् तर समाजलाई योगदान दिने जिम्मेवार नागरिक बन्न सक्ने छैनन् । राज्यले नैतिक शिक्षालाई परीक्षाको अङ्कसँग होइन, जीवनको गुणस्तर र आचरणको शुद्धतासँग जोड्नु पर्छ । जबसम्म हाम्रो समाजले धनभन्दा चरित्रलाई, शक्तिभन्दा सत्यलाई र पदभन्दा निष्ठालाई सम्मान गर्न सिक्दैन तबसम्म कुनै पनि पाठ्यक्रमले समाजमा जादुमयी परिवर्तन ल्याउन सक्ने छैन । नैतिकताको वास्तविक परीक्षा कागजका पानामा कोरिएका शब्दमा होइन, मानिसका व्यवहार, बोली र नियतमा देखिनु पर्छ । नत्र यो ‘नैतिक शिक्षा’ को पुनरागमन पनि अर्को एउटा निरर्थक रटान, राष्ट्रिय समयको बर्बादी र बौद्धिक पाखण्डको पुनरावृत्ति मात्र हुने निश्चित छ । अबको शिक्षाले ओठमा नैतिकता र गोजीमा अनैतिकता बोक्ने पुस्ता होइन, हृदयमा इमान र व्यवहारमा निष्ठा बोक्ने मानिस उत्पादन गर्न सक्नु पर्छ ।