• ६ वैशाख २०८३, आइतबार

तातोपानी कुण्डमा स्नान गर्नेको भिड

blog

तातोपानी कुण्डमा बिरामी र पर्यटक ।

साधन घर्ती 

म्याग्दी, वैशाख ६ गते । म्याग्दीको बेनी नगरपालिका अन्तर्गत सिङ्गा तातोपानीस्थित तातोपानी कुण्डमा बिरामी र बिरामीका आफन्तको भिड लाग्ने गरेको छ । स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि आजित भएका बिरामीलगायत पर्यटक प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा दैनिक स्नान गर्न आउने गरेका छन् ।

लौरो टेकेर, आफन्तले बोकेर र ह्विलचेयरमा कुण्डसम्म पुगेर हरेक बिहान ५:३० बजेदेखि साँझ ६ बजेसम्म स्नान गर्ने बिरामी दिनप्रतिदिन बढ्दै गएका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार दैनिक करिब एक हजारभन्दा बढी बिरामी र पाँच सयभन्दा बढी पर्यटकले स्नान गर्ने गरेका छन् । न्यूनतम पाँचदेखि १५ दिनसम्म स्नान गर्ने बिरामीको चाप बढेपछि महिला र पुरुषलाई कार्यतालिका बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । कुण्डमा ग्यास्टिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, नसाको समस्या भएका बिरामी धेरै आउने गरेका छन् । तातोपानीमा नुहाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ । 

कुण्डमा डुब्न र स्नान गर्न म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, चितवन, रूपन्देही, काठमाडौँलगायत देशका अधिकांश जिल्लाबाट बिरामी, सर्वसाधारण तथा पर्यटकका साथै भारतको सिक्किम र दार्जिलिङबाट समेत हरेक वर्ष आउने गरेकामा ५० प्रतिशत बागलुङबाट मात्रै आउने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

यहाँ बिरेनुन र गन्ध (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने मुहान रहेको छ । कुण्डबाहेक पर्यटकलाई सहज हुने गरी बाहिर थप दुई वटा कुण्ड छन् । उपल्लो बजार क्षेत्रमा समेत कुण्ड विस्तार गरिएको छ । तातोपानी कुण्डले अहिले सानाठुला होटेल थपिएको छ । कुण्डमा नुहाउन एक हप्ताका लागि ३५० रुपियाँको टिकटको व्यवस्था गरिएको छ । चाप बढेपछि कुण्डमा डुब्ने समय पनि दुई घण्टाका दरले बढाइएको छ ।