• ६ वैशाख २०८३, आइतबार

पाल्पाका दुई पालिकामा वैशाख ७ देखि भर्ना अभियान

blog

रेखीराम राना
तानसेन, वैशाख ६ गते ।
पाल्पाको दुई पालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । जिल्लाको बगनासकाली र तिनाउ गाउँपालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई परिपत्र गरेका छन् ।

बगनासकाली गाउँपालिकाले प्रचलित कानुन अनुसार विद्यालय व्यवस्थापनको अधिकार स्थानीय तहसँग रहेकाले भर्ना अभियान सञ्चालन गरेर वैशाख १४ गतेदेखि पठनपाठन सुरु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले लामो समयसम्म विद्यार्थी विद्यालयबाहिर रहँदा नकारात्मक असर गर्ने भएकाले तत्कालै कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

लामो समय विद्यालय बन्द रहँदा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धी हासिल गर्न कठिन हुने उहाँको भनाइ छ । वैशाख ७ गतेदेखि भर्ना अभियान चलाउने र वैशाख १४ गतेदेखि नियमित पठनपाठन गर्न गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरूलाई अनुरोध गरेको छ ।

अध्यक्ष चिदीले कुनै योजनाबिनै लामो समयसम्म पठनपाठन रोकिँदा पछि समस्या हुन सक्ने भएकाले पालिकाले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै तिनाउ गाउँपालिकाले पनि सङ्घीय सरकारले दिएको निर्देशन कार्यान्वयन भन्दै ७ गतेदेखि भर्ना अभियान चलाउने र १० गतेदेखि नै पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकाको निर्देशन अनुसार भर्ना अभियान र पठनपाठनको व्यवस्था गर्न विद्यालयहरूलाई अनुरोध गर्नुभयो ।

पाल्पाका विद्यार्थी र अभिभावक भने अलमलमा परेका छन् । लामो समयसम्म पठनपाठन नहुँदा त्यसले पछि समस्या पर्ने हो कि भन्ने अभिभावकमा चिन्ता थपिएको छ । सङ्घीय र स्थानीय सरकारको आ–आफ्नै निर्देशन आउन थालेपछि जिल्लाका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, विव्यस, अभिभावकमा भने अन्यौता छाएको छ ।  जिल्लाको बगनासकाली र तिनाउ गाउँपालिकाको कार्यालय ।