‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम पुनः सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकसँग श्रममन्त्री कार्यक्रम पुनः सञ्चालन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको उक्त कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरिएको मन्त्रालयले जनाएको हो । आइतबार दिउँसो ११ देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई देश र विदेशबाट श्रमिकले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए ।
खाद्य कम्पनीले थाल्यो धान किन्न
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले विभिन्न जिल्लामा रहेका जिल्लास्थित कम्पनीका कार्यालयमार्फत धान खरिद प्रक्रिया अगाडि बढाएको हो । बर्दियाको राजापुर, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा रहेका कार्यालयबाट धान खरिद गर्न थालेको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय किसानको बैठक भोलिदेखि नेपालमा हुँदै
अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ ।
किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य
यहाँका उखु मिलहरूले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।
सुनको मूल्य प्रतितोला एक लाख पाँच सय
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
बारीमै कुहिन थाल्यो अदुवा
बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
अल्पकालीन र दीर्घकालीन उपचार आवश्यक
राष्ट्रिय अर्थतन्त्रमा पछिल्लो समय देखिएका समस्या मूलतः वित्तीय क्षेत्रमा तरलता अभाव, न्यून राजस्व सङ्कलन, मूल्यवृद्धि र उपभोगमा आएको कमी प्रमुख हुन् । उच्च आयात, विप्रेषण आप्रवाहमा कमी र पर्यटनमा आएको शून्यताले विदेशी मुद्रा सञ्चिती अत्यधिक खस्किएको थियो । केही वस्तुका आयातमा गरिएको प्रतिबन्ध तथा कडाइले यसमा पछिल्लो समय सुधार आएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । यद्यपि सवारीसाधन महँगा मोबाइलजस्ता वस्तुको आयात पुसदेखि पुनः सुचारु गर्ने सरकारले निर्णय गरिसकेकाले पुनः दबाबमा जाने खतरा भने यथावत् छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान अल्पकालीन र दीर्घकालीन योजना एकसाथ लैजानुपर्ने विज्ञहरूको सुझाव छ । तरलता अभावबाहेक वित्तीय क्षेत्र सन्तुलित र सुरक्षित नै रहेको पनि तथ्याङ्कले देखाउँछ । तरलता अभावका कारण बैङ्कहरूले पर्याप्त ऋण लगानी गर्न सकेका छैनन् ।
पर्वतीय पर्यटनबाट अर्थतन्त्रमा थप टेवा
उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्रमा थप टेवा दिने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शनिबार आयोजित साताँै पर्वतीय महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन विकासका लागि नवीन रणनीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । उपराष्ट्रपति पुनले भन्नुभयो, “विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि महìवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता महोत्सव सान्दर्भिक छन् ।”
मलको न्यून मौज्दात
बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाइ मात्रै हो । बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।
औद्योगिक ग्राम निर्माण सुस्त
औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम आएको चार वर्ष भए पनि प्रगति न्यून रहेको छ । हालसम्म १०५ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिए पनि तिनको प्रगति भने सुस्त रहेको हो । पछिल्लो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको प्रगति विवरणमा २६ वटा स्थानीय तहले मात्रै औद्योगिक ग्रामको प्रगति विवरण बुझाएका हुन् । विवरण बुझाउने स्थानीय तहमा पाख्रिबास नगरपालिका, धरान उपमहानगरपालिका, हरिवन नगरपालिका, विदुर नगरपालिका, थाहा नगरपालिका, भरतपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।
तरलता अभाव झेल्दै सहकारी
यतिबेला बैङ्क तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा सरेको छ । बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र सहकारी संस्थाबारे नकारात्मक कुरा आएका कारण सहकारी संस्थामा बचत आउन कम भएको हो । केही ठूला सहकारी संस्थामा समस्या आएपछि धेरै बचतकर्ता एकै पटक रकम फिर्ताका लागि आउन थालेपछि एकपछि अर्को गर्दै सहकारी संस्था समस्यामा पर्न थालेको सञ्चालकले बताउन थालेका हुन् । सामान्यतः सहकारी संस्थामा १५ देखि २० प्रतिशतभन्दा बढी तरलता राखिँदैन । तर, त्योभन्दा बढी रकमका फिर्ता गर्नुपर्ने अवस्था आएपछि समस्या देखिएको राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामहरि बजगाईंले बताउनुभयो ।
भैरहवामा चैतबाट अनिवार्य उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।
मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु
पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ ।
कालिगण्डकीमा १५० मेगावाट विधुत परियोजनाको तयारी
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको छ ।
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।
राजमार्गले बदल्दै जीवनस्तर
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुँज र मरिण क्षेत्रमा विपन्न किसानको जीवनस्तर फेरिँदै गएको छ । राजमार्ग बनेसँगै विपन्न किसान व्यावसायिक खेती प्रणाली तथा पशुपालनतर्फ लागेपछि किसानको जीवनस्तरमा सुधार आउन थालेको हो । राजमार्ग निर्माणसँगै आसपासका गाउँका विपन्न किसानहरू व्यावसायिक रूपमा पशुपालन, तरकारी, फलफूल खेतीमा जुट्नुका साथै होटल, किराना पसललगायतका आयमूलक पेसामा संलग्न हुँदै आएका छन् ।
बगैँचाबाटै सुन्तला बिक्री
अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् । यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् ।
सम्पत्ति शुद्धीकरण महाशाखा स्थापना हुँदै
अब नेपाल राष्ट्र बैङ्कमै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएको छ । राष्ट्र बैङ्कले शुक्रबार सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जनाएको हो । महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुने राष्ट्र बैङ्कले जनाएको छ ।
सुदूरपश्चिमको जीडीपीमा साढे अठतीस अर्ब वृद्धि
आव २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब तीन खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ ।
सुन्तला भण्डारण गर्न समस्या
रुकुमपूर्वको सिस्ने गाउँपालिका–८, सुनखानाका सबैजसो घरमा सुन्तलाको बगैँचा छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक तीन/चार लाख रुपियाँसम्म पनि आम्दानी गर्दै आएका छन् । यस वडाका झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखाना र भुरुङ्गालगायतका ठाउँमा सुन्तला पाकेर पहेँलपुर भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याइ छ । यहाँका प्रत्येक किसानको बगैँचामा यस पटक राम्रै उत्पादन भएको छ । राम्रो फलेका कारण यस वर्ष राम्रै आम्दानी हुनेमा यहाँका किसान आशावादी देखिन्छन् । तर, शीतभण्डारको अभावले सस्तोमा बेच्नुपर्ने बाध्यता किसानको छ ।
बेरोजगारको सङ्ख्या वृद्धि
प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ । गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ हजार २४५ जना युवा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म यो सङ्ख्या बढेर आठ लाख ४१ हजार ५०३ पुगेको हो ।
सुनको मूल्य एक लाख नाघ्यो
स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेर एक लाख रुपियाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले गर्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । शुक्रबार सुन प्रतितोला छ सय रुपियाँले मूल्य बढेर एक लाख तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्सिर महिना सुरु भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएकाले स्थानीय बजारमा मूल्य बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न थालेको उहाँले बताउनुभयो ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्कदै
एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ । ग्रामीण क्षेत्रको पर्यटनलाई माथि उकास्न भारत पश्चिम बंगालको राजधानी कलकत्तामा आयोजना गरिएको महोत्सवमा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट पर्यटन ब्यवसायी कलकत्ता पुग्नुभएको छ ।