काठमाडौँ, माघ १० गते । सोमबारदेखि देशका सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ।
कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीमा संस्थागत र व्यक्तिगत अनलाइन श्रम स्वीकृतिको परीक्षण सफल भएसँगै सातै प्रदेशका कार्यालयबाट सबै खाले श्रम स्वीकृति अनलाइनबाटै प्रदान हुन थालेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुर्खेत र धनगढीमा रहेका श्रम कार्यालयबाट समेत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थाको शुभारम्भ गर्नुभयो।
श्रम मन्त्रालयका अनुसार यसअघि काठमाडौँको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयसँगै बुटवल, पोखरा, विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरिसकेको छ।
सुर्खेत र धनगढीमा पनि यसअघि नै परीक्षणका रूपमा श्रम स्वीकृति दिने काम भएको थियो। सफल परीक्षणपछि भने नियमित रूपमा श्रम स्वीकृति दिन सकिने व्यवस्था भएको श्रम मन्त्रालयले जनाएको छ।
यो व्यवस्था हुनुअघिसम्म उपत्यकाबाहिर रहेका श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति सेवा मात्रै प्रदान हुन्थ्यो तर पछिल्लो समय श्रम मन्त्रालय र अन्तर्गतका निकायबाट प्रदान हुने सेवालाई सूचना प्रविधियुक्त बनाउँदै लगिरहेको छ। यो व्यवस्था भएसँगै श्रम स्वीकृतिसम्बन्धी कुनै पनि काम गर्न कार्यालयमा कागजात लिएर लाइन लाग्न पर्दैन भने काठमाडौँ धाउन पनि पर्दैन।