• ११ पुस २०८२, शुक्रबार

सुर्खेत–जुम्ला सडकको कालीकोट खण्डमा कालोपत्रे हुँदै

blog

कर्णाली राजमार्गका हुल्म मान्म सडक खण्ड कालोपत्र । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, पुस ११ गते ।
कालीकोट/कर्णाली प्रदेशको राजधानीबाट अपर कर्णाली जोड्ने मुख्य यातायात मेरुदण्ड मानिने सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको हुल्म–मान्म खण्डमा कालोपत्रेको काम भइरहेको छ ।

ठेक्का सम्झौता भएको अन्तिममा सडक कालोपत्रे भएको हो । लामो समयदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्राको सामना गर्दै आएका स्थानीयवासीका लागि यो सडकखण्ड कालोपत्रे हुन थालेपछि दैनिक जीवन सहज हुने अपेक्षा बढेको छ । सदरमुकाम मान्म जोड्ने यस सडक खण्डमा सडक सम्याउने र कालोपत्रे बिछ्याउने काम भएसँगै सडकको स्वरुप पनि बदलिएको छ ।

सडक कालोपत्रे भएसँगै यस खण्डमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण हुने सवारी आवागमनको समस्या क्रमशः हट्ने विश्वास गरिएको छ । सडक जीर्ण हुँदा अस्पताल आउने बिरामी र सदरमुकाम मान्म हुँदै रारा तर्फ जाने पर्यटकहरु निकै समस्यामा पर्ने भएका थिए । स्थानीय प्रेमबहादुर मल्लका अनुसार सडक सुधार भएपछि अस्पताल जाने बिरामी र सदरमुकाम मान्मसम्मको यात्रा सहज हुने, बजार आवागमन बढ्ने र व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने छ । साथै, सुर्खेत–जुम्ला सडक कर्णालीका कालीकोट, जुम्ला, मुगुलगायतका जिल्लाका लागि जीवनरेखाको रूपमा रहेकाले यस खण्डको कालोपत्रेले समग्र अपरकर्णालीको यातायात व्यवस्थापनमा सुधार ल्याउने आशा गरिएको छ ।

निर्माण पक्षले सडकको गुणस्तर कायम गर्न आवश्यक मापदण्डअनुसार काम भइरहेको जनाएको छ । सडकको चौडाइ, घुम्ती सुधार र नालाको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइएको छ । समयमै काम सम्पन्न भए कालीकोटको सदरमुकामसँगै मुगुको रारा ताल र जुम्ला तर्फ जाने यात्रु तथा वाहिय पर्यटकलाई सहज हुने आशा गरिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले आफुले दुई पटक सडकको कालोपत्रेको काम गुणस्तर हुनु पर्ने भन्दै स्थलगत अनुगमन गरेको बताउनुभयो ।

‘‘अहिले काम जारी छ । अझै पनि हामीले सडक कालोपत्रे गुणस्तरको पाटो हेरिरहेका छौं,’’ प्रजिअ सुयलले भन्नुभयो । लामो समयदेखि अधुरो विकासको प्रतीक बनेको मान्म–हुल्म सडक खण्डमा कालोपत्रे सुरु हुनु कालीकोट जिल्लाका लागि मात्र होइन, समग्र कर्णाली प्रदेशको विकास यात्रामा पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको प्रशासनको भनाइ छ ।