• ११ पुस २०८२, शुक्रबार

पुस्ता राजनीतिको भाष्य

blog

‘नयाँ विचारका सम्बन्धमा मस्तिष्कलाई यथावत् नराखीकन त सोच्छु, त्यसै कारण ती युवकभन्दा म आफू पछि परे जस्तो लाग्दैन । शारीरिक सामथ्र्य भए पनि कुनै युवक मानसिक रूपले कमजोर छ र कुनै नयाँ विचार दिन सक्दैन भने उसको युवा उमेरको सार्थकता कहाँ रह्यो र ? एउटा बुढोमा भने शरीर अशक्त रहे पनि मस्तिष्कचाहिँ चनाखो छ, आफ्नो आदर्शका प्रति निष्ठावान् छ, हर कष्ट सहन तयार छ, जवाफदेही वहन गर्न तयार छ र नयाँ–नयाँ विचार दिन र ग्रहण गर्न तयार छ, हठधर्मी छैन भने त्यसलाई बुढो, अर्को जमानाको मान्छे भनेर कसरी पन्छाउन सकिन्छ ?’ कुनै बेला राष्ट्रियता र प्रजातन्त्रका लागि खिलखिलाइरहेका युवालाई सम्बोधन गर्दै महामानव बिपी कोइरालाले ‘तरुण धारणा’ राख्नुभएको थियो । 

यद्यपि बिपी आफैँ पनि किशोरावस्थादेखि नै राजनीतिमा होमिनुभएका व्यक्ति हुनुहुन्छ । उहाँकै राजनीतिक आदर्श र प्रेरणाका कारण कैयौँ युवा त्योबेला प्रजातन्त्रका लागि लडाइँमा होमिएका थिए । युवावस्थामै देशको प्रजातान्त्रिक राजनीतिक आन्दोलनलाई काँधमा बोकेर आफ्नो जीवन यात्रामा रमाउनुभएका उहाँ तत्कालीन नेपाली कांग्रेस पार्टीको आफैँमा ‘तरुण सभापति’ पनि हुनुभयो । ४० को उकालो टेक्दा नटेक्दै उहाँले यो धर्ती त छोड्नुभयो तर कहिल्यै नमेटिने राजनीतिक आदर्शको छाप छोडेर । 

देश आज एक प्रकारले उथलपुथलको अवस्थामा छ । अलमल अलमलमै सिर्जित बाटाहरूले देशलाई कहाँसम्म पुर्‍याउने हुन् त्यसको कुनै अड्कल छैन । एक प्रकारको रिक्ततताभित्र भरिएको यो हावा कति बेला फेरि कहाँ विस्फोट हुने हो, त्यो पनि पत्तो छैन । नेपाली समाज अनि यहाँको राजनीतिक पार्टीहरूमा पुस्तान्तरण वा नयाँ पुस्ताको नेतृत्व र प्रतिनिधित्व बहस चलेको धेरै नै भयो । परिवर्तनकामी एउटा शक्तिका रूपमा सधैँ यो समाजले युवालाई राख्दै आएको छ । गत भदौ २३ र २४ गते जे भयो त्यसले यो पुस्ताको लडाइँको परिभाषा मात्रै होइन, यसका सारा आयाम बदलिदिएको छ । आज जसरी ‘बुढो पुस्ता’ वा ‘नयाँ पुस्ता’ भनेर एक प्रकारको द्वन्द्वात्मक भाष्य स्थापित गर्न खोजिएको छ यसले यो सामाजिक संरचनालाई बिगार्ने मात्रै होइन बरु यसको ‘इकोसिस्टम’ नै बिथोलिइरहेको भन्दा फरक नपर्ला ।

जेनजेड अर्थात् जेनजीका नाममा अहिले जसरी एउटा पुरानो पुस्तालाई पूरै अपदस्त वा बहिष्कृत र घृणाका भाष्य निर्माण गर्न खोजिएको छ यो बिल्कुलै गलत छ । किनकि यो समाजलाई अझै पनि नबुझेको वा बुझाउन नसकिएको एउटा कुरा केचाहिँ हो भने जेनजी भनेको कुनै उमेर समूह मात्रै होइन । एउटा निश्चित उमेरसँगै एउटा निश्चित समयावधिमा जन्मिएको अनि हुर्किएको पुस्तालाई एउटा नाम दिइएको मात्रै हो । अर्थात् समय अनुसार ऊ कस्तो युगमा जन्मियो भनेर । उमेर पुगेकाहरूले हामी पनि त्यो बेला ‘जेनजी थियौँ’ भनेर जुन अपाच्य भाष्य निर्माण गरिरहेका छन्, त्यो पनि गलत छ । 

जेनजी भनेको उमेर मात्रै होइन । यो त एउटा सिङ्गो युग अनि समयलाई प्रतिनिधित्व गर्ने एउटा पुस्ता हो । दुवैले अहिले जसरी एकअर्कामाथि अनर्थ लाग्ने भाष्य निर्माणमा जबर्जस्त लागिरहेका छन्, त्यो आफैँमा घातक छ । जेनजी एउटा यस्तो पुस्ता हो, जो इन्टरनेटको युगमा जन्मियो । प्रविधिसँगै खेल्यो अनि योसँगै हुर्कियो । राज्य संरचनामा भ्रष्टाचार र बेथिति मौलाउँदै जाँदा जन्मिएको यो पुस्ताले त्यसलाई झाँगिँदै गएको पनि देख्यो । आफैँले भोग्यो र उसलाई लाग्यो अब यी झाँग फाँड्नै पर्छ । त्यसकै लागि उसले पनि डिजिटल दुनियाँको सहारा लियो । अनि एउटा पुरानो उमेर समूहको राजनीतिक नेतृत्वलाई अपदस्त गर्न सफल भयो । केही घण्टाभित्रै नेपालमा भएको यो सामाजिक र राजनीतिक उथलपुथल आफैँमा अद्भुत थियो । किनकि ऊसँग प्रविधिको साथ थियो । उनीहरूले भने जस्तै त्यो ‘पुरानो पुस्ता’ ले प्रविधिको शक्ति बुझ्न कहिल्यै सकेन । डिजिटल दुनियाँको आभाषले उसले कहिल्यै गर्न चाहेन । त्यसमा मौलाइरहेको आफ्नै पुस्तालाई उसले सधैँ बेवास्ता गरिरह्यो । यो नै त्यो पुस्ताका लागि सबैभन्दा घातक थियो । जसले उसको आफ्नै बर्वादीलाई निम्त्याएको छ । 

जननायक बिपीले भन्नुभए जस्तै “युवा भनेको उमेरको गणना होइन, बरु इच्छाशक्ति र उसभित्रको मनको चाहना अनि त्यसको शक्ति पुञ्ज हो ।” आफैँले देखेको, आफैँले भोगेको राजनीतिक बेथिति, कुरीति र राजनीतिभित्र झाँगिरहेको असङ्गतिको जालो चिर्न खोज्ने यो पुस्ता अर्थात् अहिलेको ‘युगशक्ति’ लाई बेवास्ता गर्नुको परिणाम अहिले राष्ट्रले भोगिरहेको छ । राजनीतिमा एउटा पुस्ताले गरेको गल्तीको मूल्य आज सिङ्गो राष्ट्रले चुकाउनुपर्ने विडम्बना छ । हामीले अस्तित्वको एउटा लडाइँ यहिँनेर हारेका हौँ । भदौ २३ र २४ को त्यो नरसंहार अनि त्यो विध्वसं त्यसकै कारक थिए । अहङ्कारका दुष्परिणाम थिए तर पनि हामी सच्चिएका छैनौँ । बरु त्यसलाई कसरी हुन्छ मलजल गरेर हामी फगत पानीमाथिको ओभानु हुन खोजिरहेका छौँ । जो अब यही जीवनमा कहिल्यै सम्भव छैन । किनकि हामीले हामीमाथि लागेको एउटा कलङ्कलाई धुनका लागि फेरि अर्को कलङ्कित जल आफैँमाथि छर्किने निरर्थक प्रयास मात्रै गरिरहेका छौँ । 

‘सामाजिक परिवर्तनका हरेक महìवपूर्ण कालखण्डमा कैयौँ मानिस निदाइरहेका हुन्छन् । इतिहासको यो सबैभन्दा ठुलो कमजोरी हो । समाजको यो सबैभन्दा भयानक बिमारले एक दिन उसलाई समाप्तिको बाटोतिर पनि लैजान सक्छ’ मार्टिन लुथर किङ्सले भन्नुभएको छ, “जब हामी आफू जागा रहन सक्छौँ । नयाँ विचारसँग आफूलाई आत्मघुलन गर्न सक्छौँ र परिवर्तन अनि त्यसका चुनौतीलाई स्वीकार र सामना गर्न सक्छौँ, हाम्रो अस्तित्व अब यसैमा मात्रै निर्भर छ ।”

यो पुस्ताबिचको आन्तरिक द्वन्द्व भनेको एउटा कुनैको अस्तित्व समाप्त पार्ने बाटोतिर मोडिनु हुँदैनथ्यो । जसरी आज जान्ने बुझ्नेहरूले समेत यसलाई गलत रूपमा स्थापित गर्न खोजिरहेका छन् । लोकतन्त्रमा सहअस्तित्व भन्ने एउटा महìवपूर्ण र प्रभावशाली ‘अणु’ हुन्छ, जसको गलत प्रयोग र जसको स्वीकार्यताबिना लोकतन्त्रको अस्तित्व पनि जोगाउन सकिँदैन । आज हाम्रो राजनीति र समाजमा भएको यत्ति मात्रै हो कि हामीले एकअर्को अस्तित्वलाई कहिल्यै पनि स्विकार्न चाहिरहेका छैनौँ । कमजोरी त्यो मात्रै होइन, लडाइँको एउटा अभीष्टमार्फत हामीले अर्को अभीष्टलाई पराजित र पछार्न खोजिरहेका छौँ । इगोको यो लडाइँले लोकतन्त्रले मात्रै हार्दैन, हाम्रो परिवर्तनले हार्छ । हाम्रा प्राप्ति र उपलब्धिले हार्छन् । हाम्रो राष्ट्रियता अनि यो सिङ्गो राष्ट्रले हार्छ । त्यसैले कसैले जितेर पनि राष्ट्र, राष्ट्रियता र लोकतन्त्रले हार्ने यो अभीष्टको लडाइँ हामीले तत्काल बन्द गर्नै पर्छ । त्यो भनेको के हो भने यो परिवर्तनलाई नस्वीकार्नुको कुनै विकल्प छैन । 

जेनजीले गरेको विद्रोहको त्यो भावलाई आत्मसात् नगरे अर्को कुनै उपाय नै छैन । आफ्नै पुस्तालाई गाली गर्नु वा सराप्नु भनेको आफूले आफैँलाई कहिल्यै परिवर्तन गर्न नसक्नु हो वा आफ्नो गल्ती कहिल्यै स्वीकार गर्न नसक्नु हो । अस्तित्वको यो लडाइँ मात्रै ‘सहअस्तित्व’ ले जित्नु पर्छ । हाम्रो लोकतन्त्र र गणतन्त्रले जित्नु पर्छ । हाम्रो संविधानले जित्नु पर्छ । हाम्रा परिवर्तन र उपलब्धिले जित्नु पर्छ । नकि कसैको स्वार्थ, अभीष्ट र इगोले । 

अन्त्यमा बिपीको यो सन्देश सबैले फेरि मनन गरौँ– ‘म यो पनि भन्छु– युवक समस्याको भयावहताभन्दा निदानपट्टि सोचून् कि तिनको जवाफदेही छ, प्रजातन्त्रप्रति पनि– अहिले त प्रजातन्त्रको जवाफदेही मैले बोकेको छु भनेर नवयुवक कसैले पनि त्यो जवाफदेही बोकेका छैनन् । उनीहरू भन्छन्– हामीसित त केवल जोस मात्र छ, जवाफदेही वहन गरिरहनुपर्ने आवश्यकता नै परेको छैन र हामीले सोच्नु पनि परेको छैन । उनीहरू किन सोच्दैनन् ? बुढाबुढीहरूले अरू नसोचे पनि हुन्छ तर युवाहरूले त झन् सोच्नु पर्छ । अब जुवा हाम्रै काँधमा पर्न आएको छ भन्ने बुझ्नेबित्तिकै उनीहरू सबै कुरा बुझ्न थाल्ने छन् । यस्तो सोचाइ र जवाफदेहीप्रतिको चेतनाले युवकलाई उग्रवादको आकर्षणबाट वास्तविक धरातलमा ओरालिदिन्छ । मलाई बारबार मानिसहरू भन्छन्– तपाईंका युवाहरू बुझ्दै बुझ्दैनन् । नबुझी, नसोची उनीहरू के काम गर्न सक्छन् ? म चाहन्छु– उनीहरू सोचून्, बुझून् र काम गरून् । म भन्छु– उनीहरू आफ्नो मनोभावना बदलून्, जिम्मेवारीको भावना बढाऊन् र चुनौती सामना गर्न बढी समर्थ होऊन् ।’