• २२ वैशाख २०८३, मङ्गलबार

युवाको सक्रियतामा राष्ट्रिय झन्डा

blog

झन्डा राखिएपछि सुन्दर देखिएको हरिराज खेवा स्मृति पार्क ।

हिले समाचारदाता

हिले (धनकुटा), पुस ११ गते  । स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । 

परिवर्तनका लागि युवा नामक संस्थाले सेल्फी जोन, हिलटपडाँडा, हरिराज खेवा स्मृति पार्कलगायतका स्थानमा ३० वटा नेपाली राष्ट्रिय झन्डा स्थापना गरेका हुन् । आन्तरिक पर्यटन प्रवर्धन गर्ने, स्थानलाई सुन्दर बनाउने र पहिचान दिलाउने उद्देश्यले झन्डा राखिएको संस्थाले जनाएको छ । संस्थाले आफ्नै टिमका सदस्य तथा दाताको सहयोगमा झन्डा 

स्थापना गरेको संस्थाका संयोजक खेमराज सुब्बाले जानकारी दिनुभयो ।

सुब्बाका अनुसार नेपाली राष्ट्रिय झन्डा देशप्रतिको माया र आफ्नो ठाउँप्रतिको पहिचानको प्रतीक तथा झन्डाले जात, धर्मभन्दा माथि उठेर सबै नेपालीलाई एउटै भावनामा बाँध्ने तथा बालबालिकादेखि वृद्धसम्मले नेपाली झन्डा देख्नेबित्तिकै नेपाललाई चिन्ने भएकाले यसले राष्ट्रिय भावना बलियो बनाउने विश्वास गरिएको छ । 

समूहले आगामी दिनमा पालिकाका अन्य पर्यटकीय स्थलमा समेत राष्ट्रिय झन्डा स्थापना गर्ने जनाएको छ । यसअघि पनि संस्थाले हलहले–पटेकडाँडा सिँढी सरसफाइ, ध्वजेडाँडा–मार्गपोखरी–तीनजुरेडाँडा क्षेत्र सरसफाइ, सिधुवा बजार, मठमन्दिर, सिंहदेवी मन्दिर तथा भालुखोप मन्दिर सरसफाइ साथै मिर्गौला फेल जीवन बचाऊँ अभियान, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण जस्ता सामाजिक कार्य गर्दै आएको जनाइएको छ ।