• ११ पुस २०८२, शुक्रबार

जन्मसँगै सिकलसेल परीक्षण

blog

जमुनाह समाचारदाता 

जमुनाह (बाँके), पुस ११ गते । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन गर्न सकिने जानकारी दिनुभयो । 

डा. पाण्डेले थारू समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुन्छ, अन्य अस्पतालमा जन्मेका बच्चाको पनि भेरी अस्पतालमा परीक्षण गराउन सकिने छ ।” खसिकलसेल समयमै पत्ता नलाग्दा कतिपय बच्चाको नवजात अवस्थामा ज्यान जाने गरेको उहाँको भनाइ छ । नवजातमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधी सेवन गराउनु पर्छ । 

जन्मँदै सिकलसेल देखिएमा बच्चा नौ महिना भएपछि पहिलो दादुरा रुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए/नभएको थप पुष्टि हुने व्यवस्था मिलाइएको छ । डा. पाण्डेले सिकलसेलको समस्या बढी भएको यस क्षेत्रमा सिकलसेल, थालेसिमिया नियन्त्रण तथा  न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।

उहाँले भेरी अस्पतालमा प्रिनेटल डाग्लोसिस, बोनम्यारो ट्रान्सप्लान्टेसनबाहेक हेमोग्लोबिनोप्याथी कम्प्रेसिभ केयरका धेरै सुविधा रहेको जानकारी दिनुभयो । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. पाण्डेका अनुसार  नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेसिन प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो । 

नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र जाँच गर्दा सिकलसेल एनिमिया भए/नभएको पुष्टि गर्न सकिन्छ । डा. पाण्डेले सिकलसेल एनिमिया रोगको परीक्षण र उपचारमा असाधारण उपलब्धि मिलेको बताउनुभयो । २०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भए÷नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमुना भारत पठाउनुपर्ने बाध्यता थियो ।